कालीकोट समाचारदाता
कालीकोट, मङ्सिर १५ गते । मुलुकको आर्थिक मन्दीको मारमा कालीकोट पनि परेको छ । पछिल्लो समय कालीकोट सदरमुकाम मान्मको व्यापार घट्दा व्यापारीहरू भाडाका सटर छोड्न थालेका छन् ।
मुख्य बजारका सटरको भाडा मासिक १५ देखि २० हजारसम्म छन् । भाडा तिर्न नसकेर व्यापारीले सामान बोरामा थन्क्याएर सटर खाली गर्न थालेका छन् ।
मान्म बजारका मात्र ५० सटर पूरै खाली भएका छन् भने त्यसैको हाराहारीमा सटर छोड्ने तर्खरमा व्यापारी छन् । व्यापारी डिल्लीप्रसाद चौलागाईंले दसैँतिहारका बेला समेत व्यापार नभएकाले आफूहरू बाध्य भएर सटर छोड्न थालेको बताउनुभयो ।
व्यापार केही छैन, महिना मर्नेबित्तिकै घरबेटीलाई भाडा बुझाउनुपर्ने भएकाले व्यापार छोडेर मजदुरीतिर लाग्न थालेको गुनासो गर्नुभयो । डिल्ली जस्तै समस्या अरू व्यापारीलाई पनि परेको छ । केही व्यापारी सामान कोठामा थन्क्याएर भारततिर मजदुरी गर्न हिँडेका छन् भने केही गाउँघरतिर काम गरिरहेका छन् ।
रास्कोटका हंशराज सज्यालले व्यापार छोडेर अहिले आफू काभ्रेतिर काम गरिरहेको बताउनुभयो । यहाँ केही छैन त्यसैले ठेक्काको काममा मजदुरी गरिरहेको उहाँले बताउनुभयो ।
व्यापार हुन छाडेपछि बैङ्कको ब्याज तिर्न पनि मजदुरी गर्न थालेको उहाँले बताउनुभयो । मान्म बजारमा फेन्सी चलाउँदै आउनुभएका व्यापारी बलप्रसाद सज्यालले अहिले आफू बैङ्कको ब्याज हाल्नका लागि गाउँमा मजदुरी गरिरहेको बताउनुभयो । आफू पनि काम गर्छु उधारो लिएका पनि सँगै काममा भएकाले रुपियाँ असुल गर्न पनि सहज होस् भनेर व्यापार बन्द गर्नु परेको सुनाउनुभयो ।