• ६ माघ २०८१, आइतबार

मूल्य वृद्धिको अडानमा उखु कृषक

blog

बर्दीबास समाचारदाता

बर्दीबास, मङ्सिर १५ गते । महोत्तरीको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङका लागि कारखाना सञ्चालनको तयारी गरिरहेका बेला किसानहरू मूल्य वृद्धिको अडानमा रहेका छन् । एभरेस्टले आउँदो मङ्सिर २५ देखि उखु क्रसिङ गर्न प्राविधिक एवं प्रशासनिक तयारी गरेको जनाएको छ ।

मूल्य वृद्धिको अडानमा रहेका कृषकले भने निर्धारित समयमा मिल सञ्चालन हुनेमा आशङ्का गरेका छन् । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले मिलका तर्फबाट क्रसिङको औपचारिक जानकारी गराइए पनि कृषकले भने उखु दिने नदिने विषयमा निर्णय गरिनसकेको बताउनुभयो । 

यस वर्षदेखि उखु किसानलाई छिटोछरितो भुक्तानीको व्यवस्था मिलाएको दाबी एभरेस्ट मिलले गरेको छ । “किसानको सहुलियतका लागि उखु तौल गराएको चार दिनभित्रै सम्बद्ध कृषकको खातामा भुक्तानीको व्यवस्था मिलाएका छौँ,” एभरेस्ट मिलका महाप्रबन्धक सुरेन्द्र शुक्लाले भन्नुभयो । 

उखु उत्पादक महासङ्घले भने गत वर्षको मूल्यप्रति विमति जनाउँदै प्रतिक्विन्टल उखुको मूल्य ७५० रुपियाँ कायम गर्नुपर्ने माग दोहो¥याउँदै आएको छ । मूल्य वृद्धि नभएसम्म कृषक उखु नदिने अडानमा छन् । 

यता मिल सञ्चालनको प्रारम्भिक चरणमा मङ्गलबार कारखाना परिसरमा धार्मिक विधिपूर्वक डोङा पूजा गरिएको छ । डोङा पूजामा सहभागी उखु कृषकलाई यस वर्ष एक सय दिनसम्म मिल सञ्चालनको लक्ष्य रहेको जनाइएको छ । 

चिनी मिलका महाप्रबन्धक सुरेन्द्र शुक्लाले यस वर्ष न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्यका साथ मिल सञ्चालनको तयारी गरिएको जनाउनुभयो । यसमध्ये १८ लाख क्विन्टल उखु महोत्तरीबाट तथा बाँकी उखु सर्लाही, बारा, रौतहट र धनुषा जिल्लाबाट आपूर्ति गरिने उहाले जनाउनुभयो । 

क्रसिङका लागि आवश्यक उखु मिल गेटमा २० लाख क्विन्टल र कारखाना परिसरबाहिर महोत्तरी र सर्लाहीका ग्रामीण भेगमा रहेका ३३ वटा खरिद केन्द्रमार्फत १० लाख क्विन्टल उखु आपूर्तिको व्यवस्था मिलाइएको एभरेस्टले जनाएको छ । 

मिलले क्रसिङका लागि आवश्यक उखु उपलब्ध गराउन मङ्सिर २० देखि नै सम्बद्ध कृषकलाई चलान पुर्जी वितरणको व्यवस्था मिलाएको छ । 

गत वर्ष एभरेस्टले क्रसिङ सिजनमा २६ लाख ३० हजार ७४७ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ४२ हजार तीन क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेकाले गत वर्षको तुलनामा चार लाख क्विन्टल बढी उखु क्रसिङको लक्ष्य लिएको महाप्रबन्धक शुक्लाले जनाउनुभयो ।