• २७ वैशाख २०८१, बिहिबार

नेपाल सुपर लिग : धनगढीको लगातार दोस्रो जित

blog

बुटवललाई हराएपछि धनगढीका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, मङ्सिर १४ गते । साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा लगातार दोस्रो जित निकालेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा धनगढीलाई जिताउन विदेशी खेलाडी ओलावले अफिजले गोल गर्नुभयो । बराबरीतर्फ उन्मुख खेलमा अफिजले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाउनुभयो । उहाँले अहमद इजाजीले मैदानको मध्य भागबाट निकालेको पासमा उत्कृष्ट गोल गर्नुभएको थियो ।

लिगका दोस्रो जितसँगै धनगढी ६ अङ्क जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा धनगढीले वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हराएको थियो ।लगातार दोस्रो हार खेपेको बुटबल अङ्कबिहिन छ ।

पुस १४ गतेसम्म चल्ने एनएसएलमा नौ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । जसमा धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन, विराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगञ्ज युनाइटेड रहेका छन् ।

सहभागी टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । क्वालिफायर र फाइनल गरी कूल ४० खेल हुनेछ । जसबाट अन्तिममा एक टोली च्याम्पियन बन्नेछ । प्रतियोगिताको विजेताले ७० लाख देखि एक करोड रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।