• २६ वैशाख २०८२, शुक्रबार

बागमती सुधारअन्तर्गत संरचनागत त्रुटि सच्याउनु पर्नेमा जोड

blog

काठमाडौं, मंसिर १४ गते । बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनः निर्माण तथा सबलीकरणका क्रमका भएका संरचनागत त्रुटि सच्याउनु पर्नेमा विषयगत समितिका संयोजकहरूले जोड दिनुभएको छ ।

बिहीबार त्रिपुरेश्वरदेखि टेकु (कालोपुलसम्म) नदी किनारामा भएका सम्पदाहरूको स्थलगत अवलोकन गर्दै, काठमाडौँ महानगरपालिका विषयगत समितिका संयोजकहरूले सो धारणा राख्नुभएको हो ।  

अवलोकनका क्रममा २०७२ सालको भूकम्पले जीर्ण तथा क्षति भएका सम्पदाहरूको पुनः निर्माण, पुनः निर्माणपछि हस्तान्तरण भएका सम्पदाहरूको अवस्था, पुन:निर्माण हुन बाँकी सम्पदा, संरक्षणका लागि महानगरपालिकाले गर्नु पर्ने काम, धार्मिक, सामाजिक, सांस्कृतिक तथा कला प्रवर्द्धनात्मक कार्यक्रमको सम्भावनाका विषयमा छलफल गर्नुभएको थियो । 

त्यस क्रममा सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धर, सम्पदा समितिका संयोजक आशामान सङ्गत, सामाजिक समितिका संयोजक रामकुमार के. सी. वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, गुठी संस्थानका अधिकारी, महानगरपालिकाका विभागीय प्रमुखहरू, सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीसहित सहभागी हुनुहुन्थ्यो । 

अवलोकनका विषयमा जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “सम्पदा क्षेत्रमा भौतिक मूर्त सम्पत्तिसँग सम्बन्धित कला प्रशिक्षण उपयुक्त हुने भएकोले प्रस्तावका रूपमा आएको लक्ष्मेश्वर सत्तलको अवलोकन गरिएको हो । यस क्रममा अन्य मठ मन्दिर, बस्ती तथा नदी सभ्यताको अवलोकन गरिएको हो ।”

लक्ष्मेश्वर सत्तल महानगरपालिकाले सीप प्रशिक्षणका लागि गुठी संस्थानले मासिक एक लाख छ हजार रुपियाँ भाडा प्रस्ताव गरेको छ । 

महानगरका प्रवक्ता नवीन मानन्धरले भन्नुभयो, “हाम्रो भौगोलिक क्षेत्रभित्र भएका सम्पदाको संरक्षण हामीले गर्ने हो । यस कार्यक्रममा सरोकारवाला र साझेदारसँग सहकार्य गर्छौँ । हाम्रै संरक्षण दायित्वमा रहेको स्थानमा भाडा तिर्ने कुरा आउँदैन ।”

सम्पदा समितिका संयोजक सङ्गतले भन्नुभयो, “यी स्थानहरूको उपयोगको कुरा थाल्दा सामाजिक, धार्मिक सम्बन्धबाट सुरु गर्नुपर्छ । समुदाय र यससँग जोडिएकाहरूसँग कुरा नगरी अरू उपयोगको विषय प्रभावहीन बन्न सक्छ ।” सामाजिक समितिका संयोजक केसीले नदीमा पानीको बहाव अनुमान नगरी बनाइएका संरचना त्रुटिपूर्ण रहेको उल्लेख गर्नुभयो ।