• १२ मंसिर २०८१, बुधबार

दुई लाख राशिको भलिबल प्रतियोगिता हुँदै

blog

सुजल श्रेष्ठ 

प्यूठान, मङ्सिर १४ गते । राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिता प्युठानको माण्डवी गाउँपालिकामा सुरु भएको छ । प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो । 

पछिल्लो समय प्रत्येक स्थानीय तहहरूले अध्यक्ष कप सञ्चालन गर्दै आएकोमा प्युठानको माण्डवी गाउँपालिकाले पहिलो पटक सर्वाधिक राशिको पुरस्कारसहितको राष्ट्रव्यापी भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा प्युठान र आसपास जिल्लाका स्थानीय तह गरी १३ समूहले सहभागी जनाएको आयोजकले जनाएको छ । जसको प्रथम पुरस्कार क्रमशः नगद  २ लाख, द्वितीय १ लाख २५ हजार र तृतीय पुरस्कार नगद ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । 

प्रतियोगिताको समुद्घाटन गर्दै संविधान सभा सदस्य नारायणप्रसाद अधिकारीले खेल स्वास्थ्य मानव जीवनका लागि महत्त्वपूर्ण विषय भएकाले यसको विकास गर्न जरुरी रहेको बताउनुभयो । 

स्थानीय तहमा उत्पादन भएका खेलाडीको प्रोत्साहनका लागि यो प्रतियोगिताले सहयोग पुग्ने अध्यक्ष नवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार अबदेखि यो प्रतियोगिता हरेक वर्ष निरन्तर सञ्चालन हुनेछ ।