चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १४ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ। भाडाको घरमा वडा कार्यालय सञ्चालन गर्दै आएको खोक्लिङले आफ्नै भवन निर्माण सम्पन्न भएसँगै सेवा प्रवाह गर्न सुरु गरेको हो।
गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष डण्डु लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्याले संयुक्त रुपमा बुधबार भवनको उद्घाटन गर्नुभएको हो। नवनिर्मित भवनको उद्घाटनसँगै सोही दिनदेखि आफ्नै भवनबाट सेवा सुरु गरिएको वडाध्यक्ष झरेन्द्र थापाले जानकारी दिनुभयो।
वडाध्यक्ष थापाले सात वर्षपछि आफ्नै भवनबाट प्रशासनिक लगायतका वडा कार्यालयबाट प्रवाह हुने सेवा सुरु गर्न पाउँदा खुसी लागेको बताउनुभयो। वडाध्यक्ष कार्यकक्ष, प्रशासनलगायतका शाखाहरु सञ्चालनका लागि आवश्यक कोठा रहेको संरचना अर्थात् कार्यालय भवनबाट सेवा प्रवाह गर्नलाई धेरै सहज हुने भएको पनि उहाँको भनाइ छ।
वडाध्यक्ष थापा र स्थानीय मेखराज थापाले निःशुल्क उपलब्ध गराउनुभएको पाँच रोपनी जग्गामा आठ कोठा रहेको दुईतले वडा कार्यालय भवन निर्माण गरिएको हो। गाउँपालिकाको कुल एक करोड ११ लाख रुपियाँको लागतमा एनएस कन्स्ट्रक्सनले भवन निर्माण गरेको हो। गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार निर्माण कम्पनीसँग २०७८ माघ गते योजनाको सम्झौता भएको थियो। योजनाको सम्झौता गरेको करिब २२ महिनाको अवधिमा भवन निर्माणकार्य सम्पन्न भएको हो।