• १४ असार २०८१, शुक्रबार

राष्ट्रिय सभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबिच भेटवार्ता

blog

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना अष्ट्रेलियाली समकक्षी मिल्टन डिकसँग भेटवार्ता गर्नुहुँदै ।

काठमाडौँ, मङ्सिर १४ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना अष्ट्रेलियाली समकक्षी मिल्टन डिकसँग भेटवार्ता गर्नुभएको छ । अष्ट्रेलियाको संसदमा आज भएको भेटमा उहाँहरूबिच नेपाल-अष्ट्रेलिया विद्यमान संरचनाका साथै द्विपक्षीय भ्रमण आदानप्रदानबारे छलफल भएको क्याबेरास्थित नेपाली राजदूतावासले जनाएको छ । 

उहाँहरूले दुई देशबिचको सम्बन्ध सुमधुर रहेकामा हर्ष प्रकट गर्नुभयो । दुवै देशका सभाध्यक्षले संसदीय अभ्यास र सङ्घीय संसद्का गतिविधिबारे पनि छलफल गर्नुभएको थियो । त्यस अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको पनि उपस्थिति थियो । 

अध्यक्ष तिमिल्सिना यही मङ्सिर ११ गते उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अष्ट्रेलिया प्रस्थान गर्नुभएको हो । उहाँ नेतृत्वको प्रतिनिधिमण्डलले त्यहाँको संसदीय परिषद्का अध्यक्ष बेन फ्रेङ्कलिन, न्यु साउथवेल्सका विधान सभा सभामुख ग्रेग पाइपरसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो । 

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले भिक्टोरियाको संसद्को भ्रमण गर्ने कार्यक्रम छ ।  प्रतिनिधिमण्डलमा तीन वटा प्रदेशका सभामुख र चार वटा प्रदेशका उपसभामुख, राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष, राष्ट्रिय समावेशी आयोगका सदस्य, सङ्घीय संसद् सचिवालयका कर्मचारीहरू छन् । रासस