• ६ माघ २०८१, आइतबार

महोत्तरीमा आठ लाख मूल्य बराबरका सामान बरामद

blog

महोत्तरीको रघुनाथपुरस्थित सशस्त्र प्रहरीले बरामद गरेका कपडा तथा हार्डवेयरका सामान । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, मङ्सिर १४ गते ।
 सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकाबाट लाखौँ मूल्यका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र गस्तीले आठ लाख मूल्य बराबरका जाडोका तयारी पोसाक तथा ८४ हजार रुपियाँ बराबरका हार्डवेयरका सामान बरामद गरेको हो ।

बरामद गरिएका तयारी पोसाकमा बच्चाको सुरुवाल तथा सुरुवाल सेट ८०७ थान, विभिन्न ब्राण्डका न्यानो टोपी ६०८ थान, बच्चाको हुक सेट १०७ थान, मोजा, मफलर, पछ्यौरी, स्विटर, ज्याकेट गरी एक हजार ७०५ थान कपडा छन् । त्यस्तै, बरामद अन्य सामानमा विभिन्न साइजका पिलास, रिन्चु, साना ठुला कब्जा गरी १९४ थान हार्डवेयर सामान रहेको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरीको रघुनाथपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र डिएसपी महेश खरेलको कमाण्डमा बुधबार राति खटी गएको पैदल गस्तीले सोनमा गापा तीन स्थित दशगजा आसमापसका क्षेत्रबाट उक्त सामानहरू बरामद गरेको हो ।

खेतको बाटो हुँदै भारतबाट टाउकोमा कपडासहितका बोरा बोकेर आउँदै गरेको तस्कर समूहले सशस्त्र गस्तीलाई टाढैबाटदेखि खेतमा सामान छाडी भारततर्फ भागेको सशस्त्र डिएसपी खरेलले जनाउनु भयो । बरामद सामान जलेश्वर भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र डिएसपी खरेलले बताउनु भयो ।