ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर १४ गते । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला खण्डमा अहिलेसम्म १६ वटा मोटरेबल पुल निर्माण भइसकेका छन् । आयोजनामार्फत १३ र सडक विभाग अन्तर्गतको पुल महाशाखाले तीन वटा गरी १६ वटा मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् ।
पर्वतको मालढुङ्गादेखि बेनी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय ८ किलोमिटर दूरीको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक विगत सात वर्षदेखि स्तरोन्नति सहित कालोपत्रे योजना सञ्चालन गरिएको छ । ठेकेदारको ढिलासुस्ती र भौगोलिक कठिनाइका कारण राष्ट्रिय गौरवको आयोजना भएरपनि अपेक्षा अनुसार प्रगति हुनसकेको छैन ।
आयोजनाका अनुसार म्याग्दीको गलेश्वरस्थित राहुघाट, बेगखोला ,तिप्ल्याङ, पोखरेबगर, दाना, मुस्ताङको लुप्रा खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भइसकेको छ । यस्तै छान्ताङखोला, लेते खोला, लोमान्थाङ खोला, किम्लीङ खोला, नामडोक खोला, भर्माखोला, स्याङखोला र घट्टेखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दीको रुप्से झरना, मुस्ताङको खहरेखोला, सेता खोला, पाण्डाखोला र लेतेखोलामा पुल निर्माणका लागि प्रस्ताव गरिएको छ । बाँकी ८ स्थानका पुल निर्माणाधीन अवस्थामा रहेको आयोजनाका इन्जिनियर चापागाईँले बताउनुभयो ।
यसैगरी, पुल महाशाखामार्फत मुस्ताङको थापाखोला र बोक्सीखोलमा पुल निर्माणका लागि खरिद प्रक्रिया थालिएको छ । बाँकी स्थानमा पुल निर्माणका लागि आयोजनाले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्ग देखि मुस्ताङको कोरला नाकासम्म नै कुन कुन स्थानमा थप पुलको आवश्यकता पर्दछ त्यसका बारेमा अध्ययन गरिरहेका छौँ ।"