• १२ असोज २०८१, शनिबार

कालोपत्रे गर्न माग गर्दै गान्धी मनमोहनमार्ग अवरुद्ध

blog

हरि कोइराला

उर्लाबारी, मङ्सिर १४ गते । मोरङको पथरीशनिश्चरे १० शिविरडाँडाबाट शनिश्चरे बजार-गान्धी आश्रम हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहन मार्ग स्थानीय उपभोक्ताले बन्द गरेका छन्।

गत भदौ मसान्तमा कालोपत्रे गरिसक्नुपर्ने सडक तोकिएको मिति सकिएर ३ महिना बितिसक्दा पनि कालोपत्रे नभएको भन्दै स्थानीय उपभोक्ताले सडक बन्द गरेका हुन् । पूर्व पश्चिम राजमार्गसँग विराटनगर-रङ्गेली-आमबारी सडक जोड्ने यो सडक सङ्घीय सरकारको हुलाकी सडक आयोजना इटहरीमार्फत २०७७ मा ठेक्का लागेको थियो । 

कान्छाराम कन्ट्रक्सनले एक अर्व ९४ करोड ९४ लाख रुपियाँमा ठेक्का प्राप्त गरेको सडक जिल्ला कै नमुना सडकका रुपमा निर्माण हुने बताइएको थियो । दुबैतर्फ नाला सहित ६० फिटको सडकमा २४ फिट कालोपत्रे र बाँकी भाग साइकल र पैदलपथ निर्माण गर्ने योजना थियोे । तर आधा पनि काम नगरी निर्माण कम्पनीले काम गर्न छोडेपछि स्थानीय आन्दोलनमा निस्केका हुन् ।

मङ्गलबारदेखि स्थानीयले पथरीशनिश्चरे ९ को महेन्द्रचौकमा ढुङ्गा राखेर अवरुद्ध गरेका छन् । बुधबार स्थानीयले सडक मै पत्रकार सम्मेलन समेत गरेका छन् । सानो सडक भत्काएर ठूलो सडक बनाउने योजना आएपछि स्थानीयमा खुसी छाएको थियो । ७९ वर्षीय छविन्द्रमान सिंह कार्कीले भन्नुभयो, "सडकको चौडाइ बढाउने भनेपछि सात सय ६० फिट मुख रहेको जग्गाको झण्डै ५ कट्ठा जग्गा दिएँ । तर ४ वर्ष पूरा भयो । सडक बनेको छैन । हिउँदमा धुलो र वर्षायाममा हिलो खेप्नुपरेको छ ।" महेन्द्रचौक मै होटल व्यवसाय गर्दै आउनुभएका यादव अधिकारीले भन्नुभयो, "धुलोको कारण व्यापार हुन छोड्यो ।" सडक नजिकैका घरमा मात्र होइन, कोठा चोटा समेत धुलाम्ये भएको अर्की पीडित उपभोक्ता रमा दाहालले बताउनुभयो । 

२५ किलोमिटर सडक लामो यो सडकले मोरङका पथरीशनिश्चरे, सुनवर्सी र रङ्गेली नगरपालिका हुँदै भारतको सिक्टी जोड्छ । नेपाल भारतको व्यापारसँग जोडिएको यो सडक निर्माण नहुँदा स्थानीयले ठूलो सास्ती खेप्नुपरिरहेको सडक निर्माणका लागि दबाब समूहका संयोजक वीरेन्द्र गुरुङले बताउनुभयो ।