• १२ साउन २०८१, शनिबार

झुलाघाटमा झन्डोत्तोलन गरी ओलीले सुरु गरे सङ्कल्प यात्रा

blog

झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी सङ्कल्प यात्रा आरम्भ गर्नुहुँदै अध्यक्ष ओली । तस्बिर: प्रकाशविक्रम शाह

गोकर्ण दयाल 

झुलाघाट (बैतडी) मङ्सिर १४ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी  झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा प्रारम्भ गर्नुभएको छ । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीले बिहीबार बिहान साढे ८ बजे झुलाघाटको महाकाली नदी किनारमा झन्डोत्तोलन गरी सङ्कल्प यात्राको उद्घाटन गर्नु भएको हो ।  सङ्कल्प यात्रा आरम्भको उद्घाटन सत्रमा बोल्न हुँदै ओलीले यो यात्रा संवादको यात्रा, सम्भावनाको यात्रा, अध्ययनको यात्रा र सुखी नेपाली समृद्ध नेपाल बनाउने यात्रा भएको बताउनुभयो । 

अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको मध्य पहाडी भूभागको अध्ययन, अवलोकन गरी विकासको सम्भावना पहिल्याउने बताउनुभयो । उहाँले भन्नुभयो,“ मध्य पहाडी भूभागको यात्राका क्रममा युवाहरूलाई स्वदेशमै टिकाउन, उच्चस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, रोजगारीका अवसर के केसरी सिर्जना गर्न सकिन्छ ? भन्ने विषयमा जनतासँग सघन संवाद गर्छौ ।” 

अभियानका क्रममा शिक्षक, प्राध्यापक, भूगोल विशेष, स्थान विशेषका विज्ञहरूसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको  अध्यक्ष ओलीले बताउनुभयो । झुलाघाटबाट सुरु भएको समृद्धिका लागि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुस १ गते झन्डोत्तोलन गरी समापन हुने  उहाँले बताउनुभयो । 

सङ्कल्प यात्रामा आम जनताको उत्साही भएको देख्दा खुसी लागेको बताउनुहुँदै ओलीले यात्रामा हिँड्ने शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी र जन वर्गीय सङ्गठनको भूमिकाले ठुलो योगदान पुर्याउने बताउनुभयो । नेकपा एमालेले सुरु गरेको सङ्कल्प यात्राले सरकारी अकर्मण्यता, ओरालो लागेको अर्थतन्त्र, अराजक र अस्थिर राजनीतिलाई सही दिशानिर्देश गर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सङ्कल्प यात्राले देश विकासका लागि चिन्तन मनन गर्न मद्दत पुर्याउने छ । राष्ट्रिय हितमा योगदान पुर्याउने । सकारात्मक परिवर्तन गर्न सकारात्मक नेतृत्व र शक्तिको आवश्यकता रहेकाले त्यसको नेतृत्व एमालेले गरेको छ । यात्रामा सबै अनुशासित भएर सहभागी हुने विश्वास व्यक्त गर्दछु ।”