• १२ साउन २०८१, शनिबार

आगलागीबाट पाँच पसल जलेर नष्ट

blog

गजेन्द्र गुरुङ

खजुरा, मङ्सिर १४ गते । बाँकेको कोहलपुरमा गए राती आगलागी भएको छ । कोहलपुर नगरपालिका ३ मदनचोकस्थित कमलनाथ योगीको घरमा गए राती १ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आगलागीबाट पसल जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घरधनी योगीको १० वटा कोठा भएको एक तले पक्की घरमा पाँच वटा सटरमा सञ्चालन गरिएका विभिन्न पसलहरूमा आगलागी भएको हो । तीमध्ये दिनेश शाहीले सञ्चालन गर्दै आएको उषा कस्मेटिक एन्ड सु सेन्टर (ब्युटिपार्लर) र करिश्मा टेलरिङ्ङ एन्ड ट्रेनिङ सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी क्रिष्टिना इम्पोरिएम एन्ड टेलरिङ्ग सेन्टर, दीपिका पुस्तक पसल र चित्र कोट जनरल स्टोर पनि जलेर पूर्णरुपमा नष्ट भएको प्रहरी प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार पुराना तार सर्ट भएर क्रिष्टिना इम्पोरिएम एन्ड टेलरिङ सेन्टरबाट आगलागी भएको हो ।

स्थानीयबासी, नगर प्रहरी र इलाका प्रहरीका साथै नेपालगन्ज र बर्दियाको बाँसगढीबाट गएको दमकलले दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रनाउ तिवारीले बताउनुभयो ।

बुधवार बिहान पनि नेपालगन्जको बिपीचोकस्थित अफोज शेषले सञ्चालन गरेको जनता सिरक पसलमा आगलागी भएको थियो । उक्त पसलमा विद्युत् सर्ट भएर आगलागी भएको र आगलागीबाट पसलमा भएका सिरक, डसना, सिरानी, कपडा तथा कपास सम्पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको थियो ।