• १२ साउन २०८१, शनिबार

चार वर्ष बित्यो, बनेन बसपार्क

blog

गाईघाट समाचारदाता

गाईघाट, मङ्सिर १४ गते ।सदरमुकाम गाईघाटमा बनाउन थालिएको अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माणको काम अलपत्र परेको छ । कोशी प्रदेशकै नमुना बसपार्क निर्माण गर्न भनेर २०७६ सालमै सम्झौता गरिए पनि निर्माण कम्पनीको चरम लापरबाहीले त्रियुगा बसपार्क अलपत्र परेको हो ।

त्रियुगा नगरपालिका–१२, हात्तीमारास्थित त्रियुगा नदीको उत्तरी किनारमा अवस्थित हालको बसपार्क भएकै स्थानमा अत्याधुनिक सुविधा भएको नयाँ बसपार्क निर्माणका लागि गरिएको ठेक्का सम्झौता अनुसार करिब दुई वर्षअघि नै सम्पूर्ण काम सकेर यतिबेला सञ्चालनमा आउनुपर्नेमा निर्माण कम्पनी रमण आइएस एमडी जेभीका ठेकेदार काम छोडेर बेपत्ता भएपछि त्रियुगा बसपार्क निर्माणको काम अलपत्र परेको हो । 

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाल सरकारको करिब १३ करोड रुपियाँको लागतमा सो बसपार्क निर्माण गर्न सुरु गरिएको थियो । २०७८ पुस २९ गतेभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०७६ असारमा सम्झौता गरेको थियो । 

त्रियुगा सभ्यता र विकास कार्यव्रmमलाई सफल पार्न आधुनिक शैलीमा बनाउन थालिएको त्रियुगा बसपार्क निर्माणका लागि त्रियुगा पुल नजिकैको शान्तिधामदेखि पश्चिमतर्फको करिब पाँच बिघा जग्गा निःशुल्क उपलब्ध गराउनुका साथै नेपाल सरकारसँग यसका लागि चाहिने बजेट व्यवस्थापन गर्न नगरपालिकाको तर्फबाट पहल गरेको भए पनि ठेकेदारको लापरबाहीले बसपार्क बन्न नसकेको उहाँले बताउनुभयो ।

निर्माणका व्रmममा आइपर्ने अनेकौँ बाधा अड्काउ फुकाउन र आवश्यकता अनुसारको स्थानीय स्रोत, साधन उपलब्ध गराएर त्रियुगा बसपार्क निर्माणमा नगरपालिकाको समेत योगदान पु¥याउन आफू यसमा लागि पर्ने भन्दै नगर प्रमुख बस्नेतले त्रियुगा नगरपालिकाको रूप नै उज्यालो हुने गरी यो बसपार्कको डिजाइन स्टिमेट गरिएको उल्लेख गर्नुभयो । 

सुविधा सम्पन्न बसपार्क निर्माण गरेर सञ्चालनमा ल्याउने गरी काम थालिएको भए पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण अहिलेसम्म थोरै मात्रै काम हुन सकेको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरी राजविराजका आयोजना प्रमुख प्रदीपकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार टर्मिनल भवन, घण्टाघर, यात्रु प्रतिक्षालय, मर्मतसम्भार केन्द्र, चमेना गृह, सार्वजनिक शौचालय र सपिङ कम्प्लेक्ससहितको त्रियुगा बसपार्क सम्भवतः कोशी प्रदेशकै सबैभन्दा उत्कृष्ट र नमुना बसपार्क हो तर रमण आइएस एसबी बिल्डर्स जनकपुरको निर्माण कम्पनीले केही मात्र काम गरेर बाँकी काम हालसम्म पनि नगरेकाले मोभिलाइजेसनबापत लगेको पाँच करोडमध्ये दुई करोड ३० लाख रुपियाँ कार्यालयले बैङ्कमार्फत फिर्ता लिएको उहाँले बताउनुभयो । त्यतिमात्र हैन नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि यो योजनालाई २० लाख रुपियाँ मात्र विनियोजन गरेको र त्यो पनि स्थानीय त्रियुगा नगरपालिकामा पठाएकाले आयोजना कार्यालयमा योजना फिर्ता ल्याउन कसरत भइरहेको र यसलाई क्रमागत योजनामा लगेर अब निर्माणको कामलाई निरन्तरता दिइने आयोजना प्रमुख सिंहले बताउनुभयो ।

२०४२ सालदेखि निरन्तर रूपमा सवारी सञ्चालन हुँदै आएको उदयपुरको गाईघाटबाट हाल दैनिक १५० वटा यात्रुवाहक बस चल्ने गरेको भन्दै यहाँका यातायात व्यवसायीहरूले तीन दशक लामो र अथक प्रयासपछि बल्ल सुविधा सम्पन्न बसपार्क बन्न लागेको तर निर्माण कम्पनीको लापरबाहीले योजना अलपत्र हुनु दुःखद भएको बताएका छन् । 

गाईघाट–दिक्तेल सडक र धरान–चतरा–गाईघाट–कटारी हुँदै हेटौँडासम्म जोड्ने गरी निर्माण भई सञ्चालनमा आएको मदन भण्डारी राजमार्गले पूर्वपश्चिम र उत्तरदक्षिण चारै दिशामा गाईघाटलाई एकै ठाउँमा जोडेको हुँदा पनि यहाँ त्यस किसिमको आधुनिक बसपार्क निर्माण हुनु सुनमा सुगन्ध भए जस्तै उत्तम काम भएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण बसपार्क निर्माण नहुनु धेरै ठुलो चिन्ताको विषय बनेको नगर प्रमुख बस्नेतले बताउनुभयो ।