• १२ साउन २०८१, शनिबार

चालु आवका योजनाको काम सुरु

blog

केदार तिमल्सिना

बनेपा, मङ्सिर १४ गते । चालु आर्थिक वर्षका लागि प्रदेश सरकार तथा सङ्घीय सरकारका विभिन्न मन्त्रालयबाट काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन हुने विभिन्न योजनाको काम सुरु भएको छ । वर्षायाम तथा दसैँ, तिहारलगायतका महत्त्वपूर्ण चाडपर्व सकिएसँगै विकास योजनाका काम अगाडि बढेका हुन् । 

काभ्रे जिल्लामा रहेर भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्ने सहरी विकास तथा भवन कार्यालय, सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालयलगायतका कार्यालयले आव २०८०/८१ का योजनाको काम अगाडि बढाएका हुन् । 

सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख ई. सन्तोषकुमार निरौलाले चालु आवमा यस जिल्लामा ५६ वटा योजनाको काम हुने जानकारी दिनुभयो । 

काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन हुने कार्यक्रममध्ये हालसम्म छ वटा योजनाको बहुवर्षीय कार्यव्रmम स्वीकृत भई गत वर्षदेखि काम सञ्चालन भइरहेको, २२ वटा योजनाको ठेक्का आह्वान भई योजना सम्झौता तथा मूल्याङ्कन गर्ने काम भइरहेको बताउनुभयो । यस्तै पाँच वटा योजनाको ठेक्का आह्वान गर्ने चरणमा पुगेको, चार वटा योजना उपभोक्ता समितिसँग सम्झौता भएर कार्यान्वयनको चरणमा गएको, दुई योजनाको नाम, ठेगाना फरक परेकाले सच्याउन पठाइएको, दुई वटा सडक योजनामा विवाद देखिएको बताउनुभयो । 

ई. निरौलाले कार्यालयले मङ्सिर मसान्तभित्र सबै योजनाको लागत स्टिमेट तथा फिल्ड सर्वेक्षण तथा योजना सम्झौताको काम सकेर योजना कार्यान्वयनमा जाने तयारीका साथ काम गरेको बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सिडिई राजु श्रेष्ठले चालु आवमा वर्ष काभ्रेपलाञ्चोक जिल्लामा १७४ वटा योजनाको काम हुने बताउनुभयो । उहाँले जिल्लामा सञ्चालन गरिने योजनामध्ये हालसम्म ८० प्रतिशत योजनाको लागत इस्टिमेट तयार भएको जानकारी दिँदै ठेक्का प्रव्रिmयामा गएका योजनाहरू सम्झौता गरी कार्यान्वयनमा पठाउने काम भइरहेको बताउनुभयो । उहाँले मङ्सिरभित्र योजनाको ठेक्का तथा उपभोक्ता समितिसँग योजना सम्झौता गरी कार्यान्वयनमा लैजाने गरी कार्यालयले काम गरेको बताउनुभयो । 

यसै गरी जिल्लामा रहेको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकका ई. कुसुम भट्टराईले चालु आवको चैत मसान्तभित्र काम सक्ने गरी कार्यालयले काम अगाडि बढाएको बताउनुभयो । उहाँले कार्यालयले यस वर्ष काभ्रेपलाञ्चोक जिल्लामा ४० वटा विभिन्न योजनामा काम गर्ने बताउँदै दुई वटा विद्यालय आवासीय भवनको ठेक्का आह्वान भएको, दुई वटा विद्यालय भवन तथा ३५ वटा दुई कोठा विद्यालय भवनमध्ये २१ वटाको ठेक्का निकाल्ने तयारी भइरहेको बताउनुभयो । 

उहाँले चालु आवमा जिल्लामा सञ्चालन हुने योजनाको लागत स्टिमेट तयार गर्ने तथा योजना सम्झौताको काम भइरहेको बताउनुभयो । यस्तै जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले यस वर्ष जिल्लामा तीन सयभन्दा बढी योजनाको काम गर्ने जनाएको छ । डिभिजन प्रमुख ई. विनय पौडेलले यस वर्ष जिल्लामा ३८१ वटा योजना सञ्चालन हुने बताउनुभयो ।