• ४ जेठ २०८१, शुक्रबार

सङ्ग्रहालयमा पर्यटक आकर्षित

blog

पाल्पा समाचारदाता

तानसेन, मङ्सिर १४ गते । जिल्ला सदरमुकाम तानसेनमा रहेको पाल्पा दरबार सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा सङ्ग्रहालय बनेको हो ।  

सङ्ग्रहालयभित्र राखिएका विभिन्न ऐतिहासिक सामग्रीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । दैनिक तीन सयदेखि सात सय पर्यटक अवलोकनका लागि आउने गरेको सङ्ग्रहालयका कर्मचारी बताउँछन्। 

अहिले दैनिक स्वदेशी र विदेशी नागरिक गरी दैनिक तीन सय बढीले अवलोकन गरिरहेको सङ्ग्रहालयका कर्मचारी रोमा हिस्कीले जानकारी दिनुभयो । यो चालु आव २०८०/८१ मा हालसम्म १२ हजार ३४० जना पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेको उहाँले बताउनुभयो । 

दरबार सङ्ग्रहालय अवलोकन गर्नेमा सबैभन्दा बढी विद्यार्थी छन् । चार महिनामा पाँच हजार ४७३ जना विद्यार्थीले सङ्ग्रहालय प्रवेश गरेका छन् । दरबार सङ्ग्रहालयभित्र स्वदेशीले ५० रुपियाँ, विद्यार्थीले २० रुपियाँ, विदेशीले २५० रुपियाँ र सार्क मुलुकका नागरिकले १५० रुपियाँ प्रवेश शुल्क तिर्नु पर्छ। 

तस्बिर र भिडियोका लागि समेत रकम तोकिएको छ । गत वर्ष पर्यटकबाट मात्रै ३९ लाख बढी रकम प्रवेश शुल्कबापत सङ्कलन भएको थियो । यो वर्ष १० लाख बढी रकम सङ्कलन भएको कर्मचारी हिस्कीले जानकारी दिनुभयो । 

सङ्ग्रहालयभित्र मगर, थारू, खसआर्य समुदायका विशेष कक्ष स्थापना गरिएको छ । परम्परादेखि विभिन्न जातजातिले प्रयोग गर्दै आएका कला, संस्कृति, दैनिक जीवनसँग सम्बन्धित ऐतिहासिक सामग्रीहरू राखिएको छ । 

यस्तै नेपाल–अङ्ग्रेज युद्धताका प्रयोग भएका हतियार, भाँडाकुँडा तथा अन्य सामग्री स्थापना गरिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो। 

सङ्ग्रहालयभित्र लुम्बिनी प्रदेशभित्रका ऐतिहासिक तथा पर्यटकीय स्थलको तस्बिर, नेपाली सेनाको इतिहास झल्काउने कक्षले समेत पर्यटकलाई आकर्षित गरेको छ ।