• १२ साउन २०८१, शनिबार

वाडाङ्मेट मनाउँदै आठपहरिया समुदाय

blog

कविराज घिमिरे

हिले, मङ्सिर १४ गते । धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास रहेका आठपहरिया समुदाय यतिबेला वाडाङ्मेट मनाउन व्यस्त छन् । आठपहरिया राईको वर्षभरिमा परेको मृत्यु शोकबाट उकास्ने यो एक मात्र पर्व हो । यही पर्वमा परिवारका सदस्य थपिएको खुसियालीमा हर्कबढाइँसमेत हुने गरेको छ । 

वर्षभरिमा मृत्यु हुनेका परिवारका सम्पूर्ण सदस्य चार दिन लगाएर धनकुटाबाट हिँडेरै सुनसरीको वराह क्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुन्डन गरी वराह भगवान्को दर्शन गरी बरखी फुकाउने गर्छन् । स्थानीय उमेश आठपहरिया त्यहाँबाट ल्याएको जल स्थानीय मार्गाथानमा चढाउने चलन रहेको बताउनुहुन्छ । त्यसरी जानेले यातायातका साधन प्रयोग गर्न नहुने उहाँ बताउनुहुन्छ । यो चाडमा आफन्तको दुःख बोक्नेले कपाल काटेर दाह्रीसहित केश बगाउने प्रचलन छ । तीन दिने यात्राको व्रmममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुला ठाउँमा बस्नुपर्ने र अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने चलन छ । 

वराह क्षेत्रबाट फर्किएपछि दुःख बिर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी, डल्लो नाच नाचेर तथा राँगाको मासु, कुभिन्डो र फिलुङ्गे अचारलगायतका परिकार खाएर मनाइने सूर्य आठपहरिया बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो हाम्रो जुठोबाट उक्सिने तथा हर्कबढाइँ गर्ने एक मात्र पर्व हो । चाड सुरु हुनुभन्दा एक दिनअघि कोही खस्यो भने पनि भोलिपल्ट कोकाहा गएर उक्सिने कार्य हुन्छ । त्यस्तै चाड सकिने बित्तिकै कोही खस्यो भने एक वर्ष बरखी बारेर चाड सुरु भएपछि कोकाहा गएर जुठो फुकाउनु पर्छ ।” 

कात्तिक पूर्णिमाबाट सुरु भएको यो चाड औंसीसम्म जारी रहन्छ । धनकुटा नगरपालिका मुख्य थातथलो भई विभिन्न क्षेत्रमा बसोबास गर्ने आठपहरियाको जनसङ्ख्या करिब पाँच हजारको हाराहारीमा मात्र छ । आधुनिकतासँगै यो चार्ड पनि मासिने हो कि भन्ने चिन्ता आठपहरिया समुदायमा छ । आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टबहादुर आठपहरियाले पहिले हिँडेर मात्र वराह क्षेत्र जाने गरिएकोमा अहिले सवारीसाधनको समेत प्रयोग हुने गरेको उहाँ बताउनुहुन्छ । नाच्ने गाउने शैली समेत परिवर्तन हुन थालेको उहाँको दुःखेसो छ । उहाँले भन्नुभयो, “सबै मिलेर यो जोगाइराख्नुपर्ने हो तर पछिल्लो समय यो परिवर्तन हुँदै गएको छ ।” 

धनकुटा नगर क्षेत्र नै थातथलो भएकाले नगरपालिकाले नगर क्षेत्रमा दुई दिन सार्वजनिक बिदासमेत दिएको छ । मेयर चिन्तन तामाङले यो पर्वलाई प्रचारप्रसार गर्न आठपहरिया समुदायसँगको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको बताउनुभयो ।