• १२ साउन २०८१, शनिबार

कोदोजन्य बालीको बृहत् प्रदर्शनी हुने

blog

काठमाडौँ, मङ्सिर १४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपालले संयुक्त रूपमा अन्तर्राष्ट्रिय कोदो गोष्ठी एवं बृहत् कोदो प्रदर्शनी काठमाडौँमा गरिने भएको छ । 

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ को सन्दर्भमा पुस २ गते बृहत् कोदोजन्य बालीसम्बन्धी प्रदर्शनी तथा गोष्ठीको आयोजना हुन लागेको एफएओ नेपालका कार्यक्रमविज्ञ अरुण जिसीले जानकारी गराउनुभयो । 

काठमाडौँमा हुने सो अन्तर्राष्ट्रिय गोष्ठी एवं प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, भुटान, अफ्रिकाका दुई वटा देश सहभागी हुने उहाँले बताउनुभयो । 

सन् २०२३ अवधिभर कोदोको बारेमा भएका गतिविधि तथा कार्यक्रमको समीक्षा हुनुका साथै कोदोका बारेमा नीतिगत बहस हुने उहाँले बताउनुभयो ।

प्रदर्शनीमा कोदोजन्य बालीका बिउ, जात, ज्ञान, प्रविधि, सिप, परिकार, यन्त्र उपकरण आदिको प्रदर्शन हुने उहाँले बताउनुभयो । प्रदर्शनी गर्न इच्छुक कृषक समूह तथा सहकारी, सङ्घ संस्था, कम्पनीलाई आफूले प्रदर्शन गर्न चाहेको क्षेत्रको सङ्क्षिप्त विवरणसहित सम्पर्क गर्न एफएओ नेपालले आह्वान गरेको छ । 

संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुसार नेपालले गत पुस १७ गते सो कार्यक्रमको शुभारम्भ गरेको थियो । कृषि मन्त्रालयले एक्लै तथा विभिन्न सङ्घ संस्थाको सहकार्यमा वर्षभरि विभिन्न कार्यक्रम गरी कोदोजन्य वर्ष मनाएको हो । 

भारतको प्रस्तावमा ६५ भन्दा बढी एसियाली तथा अफ्रिकी देशको समर्थनमा संयुक्त राष्ट्रसङ्घले यो वर्षलाई कोदोजन्य वर्षका रूपमा मनाउने निर्णय गरेको थियो । 

‘खाद्य पोषण सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणको कोदोजन्य बाली’ मूल नाराका साथ नेपालमा पनि वर्षभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । कोदोजन्य वर्षको अन्तिममा यो अन्तर्राष्ट्रिय गोष्ठी तथा प्रदर्शनी गर्न लागेको हो ।