• २६ वैशाख २०८२, शुक्रबार

कृषिमा समुदायमा आधारित उत्पादन मोडेल

उत्पादनको बजारीकरण प्रदेश सरकारले गर्ने

blog

हेटौँडा समाचारदाता

हेटौँडा, मङ्सिर १४ गते  । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा समुदायमा आधारित उत्पादन मोडेल अपनाउने बताउनुभएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले सरकारी भवनबाट सेवा सुरु गरेको अवसरमा आयोजित कार्यव्रmममा सम्बोधन गर्दै उहाँले प्रदेश सरकारको कृषि क्षेत्रको लगानी व्यक्तिकेन्द्रित भएको र त्यसले कुनै परिणाम दिन नसकेकाले अब समुदायमा आधारित उत्पादन मोडेलमा अगाडि बढ्ने स्पष्ट पार्नुभएको हो । “अब एक दुई सयमा होइन, लाख किसानमा जानु पर्छ । प्रदेशका ८५ स्थानीय तहलाई एक महिनाभित्र पकेट क्षेत्र घोषणा गर्दै छौँ,” उहाँले भन्नुभयो । 

प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, सहकारी र किसानको सहभागितामा समुदायमा आधारित कृषि उत्पादनलाई प्रवर्धन गर्ने जानकारी गराउँदै  मुख्यमन्त्री जम्कट्टेलले लगानीको मोडेल र उत्पादित वस्तुको बजारीकरणको जिम्मासमेत प्रदेश सरकारले लिने गरी काम अगाडि बढाइएको बताउनुभयो । कृषि क्षेत्रमा नेपालमै पहिलो पटक फरक तरिकाले प्रदेश सरकार जान लागेको दाबी उहाँले गर्नुभयो । 

प्रदेशको उच्च शिक्षाका लागि सार्वजनिक विश्वविद्यालय निर्माण गर्न लागेको जानकारी दिँदै उहाँले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको बताउनुभयो । उहाँले कृषि र प्राविधिक क्षेत्रमा प्रदेश सरकारले विश्वविद्यालय बनाएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले प्रदेश सरकारले अनावश्यक खर्च कटौती गरी उत्पादनमूलक र परिणाम आउने क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो । 

त्यस्तै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले रोजगारी सिर्जना गर्न उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उत्पादनमा बागमती प्रदेश कमजोर रहेको बताउँदै लगानीकर्तालाई उत्साह थप्ने गरी शान्तिसुरक्षासहितको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । विगतमा प्रदेश सरकारले उद्योग, व्यापार र व्यवसायलाई प्राथमिकतामा राख्न नसकेको स्वीकार गर्दै मन्त्री लामाले अब उच्च प्राथमिकतामा राखेर आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले सेवा प्रवाह चुस्तदुरुस्त गरिने बताउँदै उद्योग र वाणिज्य क्षेत्रलाई वृद्धि र विस्तार गरिने जानकारी दिनुभयो । “जनताले महसुस गर्ने खालको काम गर्न सकिएको छैन, जनतालाई अब हामीले काम गरेर देखाउनु पर्छ,” उहाँले भन्नुभयो । भूमि, सामान्य प्रशासनको नीति बनाउन बाँकी रहेको बताउँदै उहाँले मन्त्रालयको टिममा रहेर काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।