• १२ साउन २०८१, शनिबार

विपिन रिहाइका लागि थप पहल गरिने

blog

काठमाडौँ, मङ्सिर १४ गते ।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमास आक्रमणपछि बेपत्ता रहेका विपिन जोशीको बुवाआमासँग बुधबार महेन्द्रनगर पुगेर भेट गर्नुभएको छ । 

परराष्ट्रमन्त्री साउदले गृहजिल्ला महेन्द्रनगर पुगेर विपिन जोशीका बुवाआमासँग भेट गर्नुभएको हो । भेटका क्रममा विपिनका आमाबुवाले आफ्नो छोरोको शीघ्र रिहाइ गरी घर फर्काइदिन मन्त्री साउदसमक्ष अनुरोध गर्नुभयो । 

सो आक्रमणपछि छोरा कहाँ छ भन्ने कुरा कहिलेसम्म थाहा पाउन नसकेको भन्दै विपिनकी आमा भावविह्वल हुनुभयो । उहाँलाई सम्झाउँदै सरकारले उहाँको सकुशल रिहाइका लागि पहल गरिरहेकाले छिट्टै पत्ता लाग्ने आश्वासन दिनुभयो । छोरा बेपत्ता भएदेखि विपिनको घरमा न दसैँ न तिहारको अवस्था रहेको उहाँका बुवाले बताउनुभयो । छोराको अवस्थाको जानकारीसँगै सकुशल रिहा गरिदिन सरकारसँग उहाँले अनुरोध गर्नुभयो । 

यसैबिच मन्त्री साउदले विपिनको रिहाइको पहलका लागि नेपाल सरकारका तर्फबाट आफू कतार भ्रमण जान लागेको सो अवसरमा बताउनुभयो । मन्त्रालयले दिएको जानकारी अनुसार इजरायलमा विद्रोही हमास समूहको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उहाँ यही मङ्सिर २३ गते कतार जान लाग्नुभएको हो ।

यसअघि गत ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अलमुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । 

जवाफमा कतारका विदेश राज्यमन्त्री मुखैरीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिनुभएको थियो । त्यसअघि उहाँले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर पहल बलियो बनाउन निर्देशन दिनुभएको थियो । 

इजरायलमा भएको आक्रमणमा दस जना नेपालीको ज्यान गएको थियो । बेपत्ता विपिन हमास समूहकै कब्जामा रहेको दाबी इजरायली सरकारले गरे पनि त्यसको स्पष्ट पुष्टि हुने आधार अझै फेलापरेको छैन । हमास समूहले पनि उनी आफूहरूसँग रहेको औपचारिक जानकारी दिएको छैन । युद्धविराम गरेर मानवीय सहायता सामग्रीका लागि बाटो खोल्दै धेरै बन्दी रिहा भएका छन् । तर विपिनको अवस्था अज्ञात छ । 

उहाँले कतार बसाइ क्रममा दोहा २१ औँ फोरममा पनि सहभागी हुनुहुने जनाइएको छ । सो कार्यक्रम डिसेम्बर १० देखि दुई दिनसम्म चल्ने जनाइएको छ ।