• १२ साउन २०८१, शनिबार

कार्की परिवार शोकमग्न

blog

प्रितम कार्की

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १४ गते । नेपाली सेनामा १७ वर्ष सेवा गर्नुभएका स्याङ्जाको पुतलीबजार नगरपालिका–५ ठुलोस्वाँराका प्रितम कार्कीको रुसी सेनामा कार्यरत रहँदै मृत्यु भएको छ । कार्यवाहक वडाध्यक्ष सन्तोष रेग्मीका अनुसार परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खबर गरेपछि वडा कार्यालयले परिवारलाई कार्कीको मृत्युको सूचना दिएको हो ।

प्रितम सेनाको जागिरपछि रोजगारीका लागि अफगानिस्तान गएर एक वर्ष काम गरी गत साउनमा नेपाल फर्कनुभयो । नेपाल आउनुभएलगत्तै पासपोर्ट नवीकरण गरी रुस गएको र रुसमा जानकै लागि नेपाल फर्कनुभएको हुन सक्ने अनुमान वडाध्यक्ष रेग्मीले गर्नुभयो । अफगानिस्तानबाट फर्किएपछि २० दिनजति घरमा बस्नुभएको प्रितमका काकाका छोरा राजेश कार्कीले बताउनुभयो । 

प्रितमका अन्तिममा अनुहारसमेत हेर्न नपाएकोमा परिवार निकै पीडामा छ । श्रीमती अर्धचेत हुनुहुन्छ भने बूढा बुवाआमासमेत मुर्छामा हुनुहुन्छ राजेशले भन्नुभयो । प्रितम परिवारको एक्लो छोरा हुनुहुन्थ्यो । घटना भएको दिन नोभेम्बर १५ को रातिसम्मै परिवारसँग सम्पर्कमा रहनुभएका कार्की तालिम केन्द्रमै रहनुभएको र अवस्था सामान्य रहेको बताउँदै आउनुभएको थियो । बाहिर भनेजस्तो डराउनुपर्ने अवस्था छैन भनेको केही समयमै दुर्घघटना भएको राजेशले बताउनुभयो । 

नेपाली सेनाबाट अवकाश लिनुभएपछि स्वदेशमै केही गर्नु पर्छ भन्ने प्रितमका बुवा हरिबहादुरको जोड थियो । तर आफू रोजगारीका लागि जाने बताएपछि परिवारको केही चलेन । मङ्सिर १० अर्थात् नोभेम्बर २४ मा मात्रै यस्तो घटना भएको जानकारी पाएको परिवारले जनाएको छ । प्रितमको ठुलो छोरा कक्षा ५ र सानो छोरा नर्सरीमा अध्ययनरत छन् । बुवा हरिबहादुर कार्की पनि नेपाल प्रहरीबाट अवकाशप्राप्त हुनुहुन्छ ।