• १२ साउन २०८१, शनिबार

सय दिनमा कानुनी र व्यवहारिक समस्या भोग्यौं : मन्त्री चित्रकार

blog

बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको सय दिने प्रगतिबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री रामकृष्ण चित्रकार, मन्त्रालयका सचिव गोविन्द रिजाललगायत । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, मङ्सिर १३ गते । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय गठन भइ कार्य सम्पादन सुरु गरेको सय दिन पुगेको छ । यस अवधिमा कानुनी र व्यवहारिक समस्या भोग्नुपरेको मन्त्री रामकृष्ण  चित्रकारले बताउनुभयो ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रामकृष्ण चित्रकारले सो कुरा बताउनुभएको हो । मन्त्री चित्रकारले औद्योगिक नीति, वाणिज्य नीति, खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी नीति तर्जुमा गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले प्रशासनसम्बन्धी अधिकार मन्त्रालयको भएको र प्रदेश निजमातीसम्बन्धी नियमावली बनेपछि मन्त्रालयको प्रशासनसम्बन्धी अधिकार क्षेत्रको बारेमा थप स्पष्ट हुने भन्दै प्रदेश लगानी बोर्ड स्थापना, भूमि बैङ्क स्थापनालगायतका काम अघि बढाउन कानुन निर्माण गरिने बताउनुभयो ।

प्रदेशको सबैभन्दा कान्छो मन्त्रालयको रुपमा कार्य सम्पादन गर्दैआएको जानकारी दिँदै मन्त्री चित्रकारले मन्त्रालयले गर्नुपर्ने सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतका सङ्गठनको सङ्ठनात्मकम स्वरुप र दरबन्दी तेरिज मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पेस गरिएको बताउनुभयो । 

मन्त्रालयको सय दिनका प्रगतिबारेमा जानकारी दिँदै मन्त्री चित्रकारले उपभोक्ताको हकहित र अधिकार संरक्षणका लागि स्वच्छ प्रतिस्पर्धा कायम गर्दै उपभोग्य वस्तुको आधारभूत गुणस्तर कायम गर्न बजार अनुगमनको कार्यलाई नियमित तथा प्रभावकारी बनाइएको दावी गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव गोविन्द रिजालले जनशक्ति अभावलगायतका समस्याबीच काम गरिरहेको भन्दै उद्योग प्रशासनलाई सेवाग्राही र प्रविधिमैत्री बनाउनेगरी काम भइरहेको बताउनुभयो । उहाँले निर्माण सम्पन्न भइ सञ्चालनको चरणमा रहेका कोशेली घरलाई स्थानीय तहहरु तथा सरोकारवालालाई हस्तान्तरण गरी व्यवस्थित रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न भौतिक संरचना हस्तान्तरणसम्बन्धी कार्यविधि तयारीको चरणमा रहेको बताउनुभयो ।