• १२ साउन २०८१, शनिबार

आठौं पर्वतीय महोत्सव २२ गतेबाट

blog

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर १३ गते । नेपाल पर्वतारोहण संघले बर्सेनी गर्दै आएको पर्वतीय महोत्सव यस वर्ष पाँच दिन हुने भएको छ । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रामा आठौं संस्करणको महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म हुन लागेको हो ।

यसअघि यो महोत्सव तीन दिन हुने गरेको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारी नेपाल पर्वतारोहण संघले आठ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको छ ।

यस वर्षको महोत्सवमा बर्डस् कन्जरभेसनसँगको सहकार्यमा ‘मिस अन्डरस्टुड बर्डस्’ नामक नाटक प्रदर्शन गरिने भएको छ । आयोजक संघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका महोत्सवका संयोजक ठाकुराज पाण्डेले विश्वमा नेपालले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र पर्वतीय पर्यटन रहकाले यसका सम्भावना खोज्न महोत्सव आयोजना गरिएको बताउनुभयो ।

महोत्सवमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्रहरु प्रदर्शन गरिने भएको छ । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र देखाइने छन् ।

महोत्सवमा पर्वतारोहण सम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीका फोटो प्रदर्शनीसमेत गरिने अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिनुभयो । यसपालिको महोत्सवमा ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । ‘यसबाहेक दर्शकलाई आकर्षित गर्न छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ न्यौपानेले भन्नुभयो ।