• १२ साउन २०८१, शनिबार

पुल बनेपछि ६० हजार जनता लाभान्वित

blog

राप्ती नदीमा निर्माण गरेर सुचारु भएको पक्की पुल । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १३ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा २ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि सो क्षेत्रका ६० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेभएका छन् । 

नदीमा पुल नहुँदा राप्ती सोनारी माथेबास र धामपुरका जनतालाई आवागमनमा वर्षौँदेखि सास्ती भोग्नुपरेकोमा पक्की पुल निर्माण भएर डेढ वर्षअघि नै सञ्चालनमा आएपछि सो क्षेत्रका जनतालाई ठुलो राहत भएको छ ।   

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले राप्ती नदीमा निर्माण गरिएको ५५४.४५ मिटर लम्बाइ रहेको सो पक्की पुलले नदीवारी र पारीका १० हजार बढी घरधुरीका ६० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो । 

उहाँले त्यहाँ पुलको अभावले सो क्षेत्रका बासिन्दाले निकै टाढा अगैया पुगेर आवागमन गर्नुपरेकोमा पुल निर्माण भएर सवारी साधन सुचारु गरिएपछि सो क्षेत्रका सर्वसाधारणले राहात महसुस गरेको बताउनुभयो । विभिन्न पुल र सडक निर्माणको ठेक्का पाएका अधिकांश निर्माण कम्पनीले समयमा काम पूरा नगरेर अलपत्र पारिरहेको बेला तुण्डी रसुवा कुमार श्रेष्ठ जेभीले निर्धारित समयमै सो पुलको निर्माण पूरा गरेको थियो । 

सो पुल तयार भएर डेढ वर्षअघि नै सुचारु गरिए पनि गत शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नुभएको थियो । ७३ करोडको लागतमा सो पुलको निर्माण कार्य समयमै पुरा भएर स्थानीयले सवारी साधनका साथ आवागमन गर्न पाएपछि सो क्षेत्रका जनता उत्साहित बनेको स्थानीय विपतराम थारुले बताउनुभयो । 

उहाँले पुल बनेर सुचारु भएपछि जतिबेला पनि कचनापुर, सम्शेरगन्ज ढकेरी कोहलपुरका मान्छे बिनौना बैजापुर आउनजान सक्नेभएको बताउनुभयो । यस्तै, राप्तीसोनारी–२ का नरेश सार्कीले पुल बनेपछि यस क्षेत्रका नदीवारी र पारी दुवैतर्फका सर्वसाधारणले राहत पाएको बताउनुभयो । 

२०७४ सालबाट निर्माण सुरु भएको सो पक्की पुलको ५ वर्षभित्र गत वर्ष नै कम्पनीले पुलको निर्माण कार्य सम्पन्न गरिसकेको थियो । निर्माण कम्पनीका अनुसार ११ वटा पिल्लर रहेको उक्त पक्की पुल साढे ७ मिटर चौडाइ पिच र पुलको दुवै साइडमा १ः७५ मिटरको पैदलयात्रुका लागि बाटोगरी ११ मिटर पुलको चौडाइ छ ।