• १२ साउन २०८१, शनिबार

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार

blog

भावना जोशी
अत्तरिया,  मङ्सिर १३ गते ।
 आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनका लागि लोगो  छनौट गर्न प्रतियोगिता नै गर्ने भएको हो । प्रदेशको आर्थिक मामिला मन्त्रालयले लोगो निर्माणका लागि प्रतियोगिता गर्न लागेको एक सूचना जारी गर्दै जानकारी दिइएको छ ।

‘सम्मेलनका लागि प्रयोग हुने लोगो तयार गर्न लोगो डिजाइन प्रतियोगिता आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८० को सचिवालयमा पठाउन हुन अनुरोध  गरिएको छ ।’ सूचनामा भनिएको छ । प्रतियोगितामा छनौट भएको उत्कृष्ट लोगो निर्माणकर्ता व्यक्ति वा संस्थालाई २५ हजार पाँच सय ५५ रकम पुरस्कार प्रदान गरिने सचिवालयले जनाएको छ । लोगो निर्माणका लागि मन्त्रालयले लोगो तयार गर्ने सम्बन्धी मार्गदर्शन, सर्तहरू छनौट प्रक्रिया तोकेको छ ।

लोगोको फाइल तस्बिर वा पिडिएफ हुनुपर्ने, लोगो कलाकृति कम्तीमा दुई इन्च लामो र सबैभन्दा सानो साइडर हुनुपर्ने, लोगो शुद्ध र सफा हुनुपर्ने लगायत मार्गदर्शनमा उल्लेख छ । मन्त्रालयले प्रतियोगिताका लागि पठाइएको लोगो फिर्ता नहुने, लोगो मौलिक भएको भनी स्वयम् प्रमाणित गरिएको पत्र पठाउनुपर्ने, लोगोको निर्माण पक्षले प्रतिलिपि अधिकार सहित कुनै पनि अधिकारको दाबी प्रस्तुत गर्न नपाउने लगायतका सर्तहरू राखेको छ ।