• १२ साउन २०८१, शनिबार

तेल नहाल्ने निर्णयविरुद्ध अन्तरिम आदेश

blog

काठमाडौँ, मङ्सिर १३ गते । पूर्वअरनिको यातायात प्रालिका गाडीले काभ्रेका तीन वटा पेट्रोल पम्पमा तेल नहाल्ने भन्दै गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । 

पूर्वअरनिको यातायात प्रालिको कात्तिक ३० गते बसेको बैठकले चामुण्डा आयल स्टोर पाँचखाल, पाँचकुमारी आयल स्टोर २८ किलो धुलिखेल र उग्रचण्डी आयल स्टोर बनेपामा डिजेल नहाल्न भन्दै गरेको निर्णयका विरुद्ध पेट्रोल पम्प सञ्चालकहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । 

सोही रिटमा पूर्वअरनिको यातायात प्रालिको निर्णय कार्यान्वयन हुँदा पम्प सञ्चालकलाई अपूरणीय क्षति पुग्ने देखिएको भन्दै उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले सो अन्तरिक आदेश जारी गरेको हो । 

सिन्डिकेट हटाइएको छ वर्ष नबित्दै सात सयभन्दा धेरै बस सञ्चालन गर्ने पूर्वअरनिको यातायात सेवा प्रालिले सिन्डिकेटकै झल्को दिने गरी आफ्ना गाडीलाई विभिन्न पम्पमा डिजेल नहाल्ने सूचना जारी गरेको थियो । वर्षौंदेखि एकलौटी रूपमा अरनिको सेवा प्रालिले कब्जा गरेको रुटमा गणेश हिमाल तराई, सुन्दर सगरमाथा र मध्यपहाडी यातायात प्रालिले बस चलाउन थालेपछि राजमार्गमा पर्ने तीन वटा पम्पमा डिजेल नहाल्न कात्तिक ३० गते निर्णय गर्दै पूर्वअरनिकोले मङ्सिर १ गते सूचना जारी गरेको थियो । 

आफ्नो पम्पमा डिजेल नहाल्ने सूचना जारी गरेपछि अरनिको यातायातविरुद्ध व्यवसायी अदालत पुगेका थिए । आफ्नो रुटमा गाडी चलाएको भन्दै रोकिराखेको गाडीको चक्काको हावा फुस्काउने र अवरोध कायमै रहेकाले गणेश हिमाल तराई यातायात प्रालिले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा शान्ति सुरक्षाको माग राख्दै निवेदन पेस गरेको छ । त्यसबारे हालसम्म छलफल हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यवसायीबाट उजुरी दर्ता भएको र प्रहरीलाई पूर्वअरनिको यातायात सेवा प्रालिसँग समन्वय गर्न निर्देशन दिएको उल्लेख गर्नुभयो ।