• १२ साउन २०८१, शनिबार

एमाले अध्यक्ष ओली धनगढीमा

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा पार्टी नेता तथा प्राध्यापकहरुसँग छलफल गर्नुहुँदै । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, मङसिर १२ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज मङ्गलवार साँझ धनगढी आइपुग्नु भएको छ । मङ्सिर १४ गते बिहान ८ : ३० बजे एमालेले बैतडीको झुलाघाटबाट सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राको उद्घाटनका लागि उहाँ धनगढी आउनु भएको हो । 

काठमाडौँबाट जहाजमा धनगढी आउनुभएका अध्यक्ष ओली बुधबार बिहान डोटी, डडेलधुरा हुँदै बैतडी जानुहुने कार्यक्रम रहेको एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले बताउनुभयो । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्यपहाडी राजमार्गको करिब एक हजार ८ सय ७९ किलोमिटर दूरीमा अभियानले छिचोल्ने छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रामा एमालेले तीन साता खर्चिने निर्णय गरेको छ । 


एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायतका नेताहरू धनगढी आइपुग्नुभएको छ । अध्यक्ष ओलीले मंगलबार साँझदेखि अबेर रातिसम्म सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक र एमाले नेता कार्यकर्तासँग भेटघाट गर्नुभएको छ । 

अध्यक्ष ओली सकेसम्म बैतडीबाट सुर्खेतसम्मको झण्डै पाँचसय किलोमिटरको चार दिने यात्रा सडक मार्गबाटै गर्ने सम्भावना रहेको एमाले नेताहरूको भनाइ छ ।