• १२ साउन २०८१, शनिबार

एमालेको मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा

blog

पदयात्राबारे जानकारी दिनुहुँदै एमाले सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मासहित एमालेका नेताहरू ।

प्रकाशविक्रम शाह

धनगढी, मङ्सिर १२ गते । सुदूरपश्चिमको बैतडी झुलाघाटबाट मङ्सिर १४ गते सुरु हुने नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा भएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज राति धनगढी पुग्दै हुनुहुन्छ । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू आजै धनगढी आउने कार्यक्रम रहेको छ । यस्तै गरेर उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डेय, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायतका नेताहरू भोलि बिहान धनगढी पुग्दै हुनुहुन्छ ।

एमालेका नेताहरू १४ गते बिहान ८ः३० बजे हुने पदयात्राको उद्घाटनका लागि भोलि नै धनगढीबाट बैतडी जाने भएका छन् ।  अध्यक्ष ओलीले नेपालको झण्डा झण्डोत्तोलन गरेर पदयात्राको उद्घाटन गर्ने सचिव छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी बैतडीको खोड्पेमा सन्देश सभा आयोजना गरिने छ । 

टोलीले डडेलधुराको उग्रतारा दर्शन गर्ने, १५ गते डडेलधुराको अमरगढी किल्ला अवलोकन गर्ने, बागबजारमा सन्देश सभा गर्ने, डोटीको दिपायल र सिलगढीमा जनसभा गर्ने र शैलेश्वरीको दर्शन गर्ने कार्यतालिका रहेको छ । 

१६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्षसहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने जनाएको छ । 

झुलाघाटदेखि अछामको बेलखेतसम्म सुदूरपश्चिम प्रदेशको ३५८ किलोमिटर छिचोल्ने र सो अभियानमा २५० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ । 

एमालेका सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले सो अभियानका क्रममा सुदूरपश्चिममा तीन दिनसम्म विकास र समृद्धिका लागि बहस हुने बताउनुभयो । १९ दिनमा सङ्कल्प यात्राको पुस ५ गते सन्देश प्रवाह गर्ने गरेर काठमाडौँमा समापन हुने बताइएको छ । बैतडीबाट सुरु हुने कार्यक्रम पाँचथरको चिभञ्याङसम्म पुग्नेछ ।