• १२ असार २०८१, बुधबार

कक्षा दुई र चारमा एक/एक जनामात्रै विद्यार्थी

blog

विद्यार्थी सङ्ख्या न्यून रहेको पञ्चकन्या आधारभूत विद्यालय । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, मङ्सिर १२ गते ।
 खोटाङको एक सामुदायिक विद्यालयका दुई वटा कक्षामा एक/एक जना मात्र विद्यार्थी छन् । जिल्लाको रावा बेसी गाउँपालिका–२ खार्पा रुभुङस्थित पञ्चकन्या आधारभूत विद्यालयको कक्षा दुई र चारमा एक/एक जना मात्र विद्यार्थी अध्ययनरत रहेका हुन् ।

कक्षा ५ सम्म पठनपाठन हुने उक्त विद्यालयमा जम्मा १५ जना विद्यार्थीको भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक पुष्प राईले बताउनुभयो । उहाँका अनुसार कक्षा एकमा ६ जना, कक्षा दुईमा एक जना, कक्षा तीनमा चार जना, कक्षा चारमा १ जना र कक्षा पाँचमा तीन जना विद्यार्थी भर्ना भएका छन् । कक्षा दुई र कक्षा चारमा भने एक÷एक जना मात्र छन् । उक्त एक जना विद्यार्थी विद्यालय नआउँदा कक्षा खाली हुने गरेको छ ।

अघिल्लो वर्ष कक्षा तीनमा एक जना पनि विद्यार्थी थिएनन् । जसअनुसार कक्षा चारमा यो वर्ष खाली हुने थियो । तर एक जना विद्यार्थी बाहिरबाट आएकाले अहिले चार कक्षामा एक जना विद्यार्थी छन् । उनी नियमित विद्यालय भने आउँदैनन् । 

वि.सं. २०३१ सालमा स्थापना भएको पञ्चकन्या आविमा अहिले दुई जना स्थायी दरबन्दी छ । दरबन्दी अनुसार प्रधानाध्यापक राईसँगै अर्का एक जना स्थायी शिक्षक विद्यालयमा छन् । पालिकाको अनुदान कोटाबाट एक जना शिक्षक र एक जना कार्यालय सहयोगी गरी विद्यालयमा जम्मा चार जना कार्यरत छन् । पाँच कक्षासम्म सञ्चालन हुने उक्त विद्यालयमा हाल १५ जना विद्यार्थी भर्ना भए पनि सबै विद्यार्थी नियमित विद्यालय आउँदैनन् । विद्यालयको भौतिक संरचना, शौचालय गुणस्तरीय छ । तर विद्यार्थीको सङ्ख्या न्यून छ ।

खार्पास्थित रुभुङ गाउँमा राई, विश्वकर्मा र नेपाली गरी करिब ६५ घरधुरी छन् । तर प्रायः घरका बालबालिका अन्यन्त्र निजी विद्यालयमा अध्ययन गर्छन् । विद्यालयमा शैक्षिक गुणस्तर नहुँदा विद्यार्थी न्यून भएको नाम नबताउने सर्तमा एक अभिभावक बताउनुहुन्छ । ‘‘विद्यालयमा प्रायः गाउँकै शिक्षकहरू हुनुहुन्छ, गाउँमा विवाह वा कुनै कार्जेहुँदा पनि विद्यालय बिदा हुन्छ । गाउँकै शिक्षक भएकाले अभिभावक कसैले कुरा उठाउँदैनन् ।’’ उहाँले भन्नुभयो, ‘‘विद्यालयमा खासै राम्रो पढाइ हुँदैन, त्यसैले प्रायः गाउँका बालबालिकालाई अन्तै निजी विद्यालयमा लगिएको छ ।’’

रोजगारीका लागि गाउँका प्रायः युवाहरू विदेश गएका छन् । आफूले पढ्न नसकेपनि छोराछोरीलाई राम्रो शिक्षा दिने भन्दै उनीहरूले सहर बजारका निजी विद्यालयहरूमा पढाउने गरेको अभिभावक उदिम चाम्लिङले बताउनुभयो । गाउँका धेरै जसो बालबालिका जिल्ला सदरमुकाम दिक्तेल, धरान, काठमाडौँ लगायतका सहरमा अध्ययनरत रहेको उहाँको भनाइ छ ।

यता विद्यालयका प्रधानाध्यापक राई भने शैक्षिक गुणस्तर नभएका कारण विद्यार्थीको सङ्ख्या न्यून भएको कुरालाई अस्वीकार गर्नुहुन्छ । केही बालबालिका मात्र अध्ययन गराउन बाहिर लगिएको उहाँको भनाइ छ । गाउँमा बालबालिका नै नभएका कारण विद्यालयमा विद्यार्थी नभएको उहाँ बताउनुहुन्छ । ‘‘आजभोली गाउँघरमा बालबालिका नै छैनन्, पछिल्लो समयका युवाहरूले ढिलो विवाह गर्छन् । छोराछोरी धेरै जन्माउँदैनन् । त्यसैले विद्यालयमा विद्यार्थी पाउन मुस्किल छ ।,’’ उहाँले भन्नुभयो, ‘‘रुभुङमा बालबालिका कम छन्, भूगोलका कारण अन्य गाउँबाट यस विद्यालय आउन कठिन छ । त्यसैले हाम्रो विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएको हो ।’’

भौतिक संरचना राम्रो भएको उक्त विद्यालयका तीन वटा भवन छन् । एउटा भवनको एक कोठामा विद्यालयको प्रशासनिक कार्यालय सञ्चालन गरिएको छ । उक्त भवनको एक कोठा र अर्को भवनमा पठनपाठन गराइएको छ । विद्याको सिङ्गो एउटा भवन खाली छ । उक्त खाली भवनमा कम्प्युटर कक्षा सञ्चालन गर्ने सोच गरिएको प्रधानाध्यापक राई बताउनुहुन्छ । जसका लागि गाउँपालिकासँग माग राखिएको उहाँको भनाइ छ । विद्यालयमा खानेपानी र शौचालयको सुविधा पनि अत्यन्तै राम्रो छ । तर अभिभावक र विद्यार्थीको रोजाइमा भने विद्यालय परेको छैन ।