• १२ साउन २०८१, शनिबार

केपी ओली कप टी-२० : मधेस सेमिफाइनलमा

blog

फडिन्द्र अधिकारी

पोखरा, मङ्सिर १२ गते । नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशसँग पुलिस ४ विकेटले पराजित भएको हो ।

राष्ट्रिय खेलाडीले सुसज्जित पुलिस पराजित हुँदा समूह सीबाट रनरेटका आधारमा मधेस सेमिफाइनल पुगेको हो । मधेसले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । पुलिसले पहिलो खेलमा मधेस प्रदेशलाई ५७ रनले पराजित गरेको थियो । बराबर अङ्क रहेका मधेसको रनरेट १.४७२, पुलिसको १.०८४ र सुदुरपश्चिमको-३.२२९ छ ।

यसअघि बागमती प्रदेश र सशस्त्र प्रहरी बल (एपिएफ) प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । मंगलबार नै हुने दोस्रो खेलले सेमिफाइनल खेल्ने चौँथो टिमको टुङ्गो लाग्नेछ । त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबिचको खेल दिउँसो १ बजे सुरु हुने भएको छ । 

यो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भए सिधै सेमिफाइनलमा प्रवेश गर्नेछ । आर्मी पराजित भएमा बुधबार हुने कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ब्लु’ बिचको खेलले सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

प्रतियोगितामा सुदूरपश्चिममा किरण ठगुन्ना प्लेयर अफ दि म्याच घोषित हुनुभयो । प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद पाउनेछन् । म्यान अफ द सिरिजले नगद ३० हजार, वेस्ट व्याटार र बलरले जनही २० हजार तथा म्यान अफ द म्याचले नगद पाँच हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताका लागि पोखराको क्रिकेट रङ्गशालामा अस्थायी प्यारापिट बनाइएको छ । 

प्रतियोगिताको समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’, समूह ‘बी’ मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेस प्रदेश र सुदूरपश्चिम छन् । समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘नीलो’ छन् । बिहीबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर १५ गते हुनेछ ।