शेरबहादुर सार्की
बाजुरा, मङ्सिर १२ गते । बाजुराको बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा आवास कार्यक्रमका घर अलपत्र परेका छन् । आर्थिक वर्ष २०७९-०८० मा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा बाढीपहिरोबाट विस्थापित भएका अम्कोटका स्थानीयलाई स्थापित गर्ने गरी आवास कार्यक्रम सुरु गरिएको हो ।
विपद् प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण गर्नुको उल्टै यहाँका बाढीपहिरोबाट प्रभावित भएकाहरूले आफ्नै मनोमानीमा घर बनाउन थालेपछि यो आवास कार्यक्रम घर अलपत्र परेको जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले जनाएको छ ।
बाढीपहिरोबाट विस्थापित भएका अम्कोट झण्डै १०६ घरपरिवार मध्यकै ८५ जनाले ७५ हजार पहिलो किस्ता रकम समेत पाएका छन् । पहिलो किस्ता रकम पाएका ८५ जनामध्ये १८ जनाले मात्र घर निर्माणको काम सुरु गरेका छन् भने ६७ जनाले अझै घर निर्माणको काम सुरु गरेका छैनन् ।
प्राविधिकहरूले भनेकै अनुसार घर निर्माण गरेको भएपनि अहिले सम्म दोस्रो किस्ता रकम नमिलेपछि आवास कार्यक्रम अलपत्र परेको यहाँका स्थानीय बताउँछन् । प्राविधिककै लापरबाहीले बाढीपहिरोबाट विस्थापित भएकाहरूको घर निर्माणको काम अलपत्र परेको बूढीगङ्गा नगरपालिका –१ अम्कोटका स्थानीय अर्जुन पाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपयले प्राविधिककै डिजाइन स्टिमेटमा घर निर्माण गरेका छन् भने त्यो बाहेक एक दुई जनाले सो डिजाइन नभएर घरको एक तला थपेपछि अहिले त्यसकै कारण सबैको दोस्रो किस्ता रकम रोकिदिएको छ ।
त्यसैगरी, प्राविधिकले भने अनुसारकै घर निर्माण गरिएको छ । घर निर्माण भएको एक वर्ष हुँदा पनि दोस्रो किस्ता रकम नमिलेको बूढीगङ्गा नगरपालिका–१ अम्कोटी कल्धरी नेपालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा एक पटक मात्र प्राविधिक आउनुभयो । उहाँले हामीलाई यसरी घर बनाउनु भनेर जानुभयो । त्यसपछि उहाँ कहिल्यै हाम्रो गाउँमा फर्किनुभएन । अहिले घर निर्माण गरिसकेपछि बल्ल प्राविधिक पनि गाउँमा आउनुभयो र डिजाइन स्टिमेट अनुसार घर निर्माण भएन भनेर दोस्रो किस्ता रकम पनि रोकिदिनुभयो ।”
गाउँमा कीर्ण खर्च गरेर घर त बनायौँ तर अहिलेसम्म रकम नपाउँदा यो घर बचेर नै साहुँको पैसा तिर्नु पर्ने बाध्यता भएको नेपालीले बताउनुभयो । बाढीपहिरोबाट प्रभावित भएका अम्कोटका स्थानीयको घर निर्माणकै लागि एक जना प्राविधिक नियुक्ति गरेर दैनिक काममा पठाएको बुढीगङ्गा नगरपालिका प्रमुख प्रशासकीय प्रमुख शङ्कर नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “अम्कोटका स्थानीयले प्राविधिकले दिएको डिजाइन स्टिमेट अनुसारको घर निर्माण नगरेपछि पछिल्लो किस्ता रोकिएको हो ।”
जिल्ला विपद् व्यवस्थापन समिति वा विपत् प्राधिकरणले दिएको स्टिमेट अनुसारको एम्बी उठाउनुपर्छ । उनीहरूले निर्माण गरेका घर स्टिमेटभन्दा फरक रहेकोले सोही अनुसार एम्बी उठाउन नपाइने भएपछि दोस्रो किस्ता रोकिएको नाथले बताउनुभयो ।
अम्कोट स्थानीय अहिले पनि घरबासविहिन छन् । उनीहरूलाई जसरी भएपनि घर निर्माण गर्नु अति आवश्यक छ । तर उनीहरूकै लापरबाहीले गर्दा नै घर निर्माणको काम अलपत्र परेका हुन् । अब जिल्ला विपद् व्यवस्थापन समिति तथा विपत् प्राधिकरणले जे निर्णय गर्छ सोही निर्णय अनुसार स्थानीय सरकारबाट पनि दोस्रो किस्ता रकम भुक्तानी दिने प्रमुख प्रशासकीय नाथले बताउनुभयो ।
सरकारले १५ प्रदेश सरकारले २० र सङ्घीय सरकारबाट ६५ प्रतिशत रकम गरी एक परिवारलाई झण्डै पाँच लाख रुपियाँ दिनु पर्ने हो । बाढीपहिरोबाट प्रभावित भएका बूढीगङ्गा नगरपालिका –१ अम्कोटका झण्डै १०६ घरपरिवारमध्ये पहिलो चरणमा ८५ जनालाई घर निर्माणका लागि पहिलो किस्ता भनेर ७५ हजार रकम दिएको जिल्ला विपत् व्यवस्थापन समिति बाजुराको भनाइ छ ।
यता अम्कोटका ८५ जनाले ७५ हजार पहिरो किस्ता रकम पाएपनि १८ जनाले मात्र घर निर्माणको काम सुरु गरेका छन् । १८ जनामध्येमा पनि ६ जनाले मात्र घर निर्माणको काम सकेका छैन । तर ती घर पनि विपत् प्राधिकरणको डिजाइन स्टिमेट भन्दा फरक तरिकारले निर्माण भएका छन् ।
स्टिमेटमा प्रत्येक कुनामा एक एक सरिया, जगको माथिमा दुई वटा सरियाले डिपीसि गर्ने र तला नथप्ने गरी सिडजाइन स्टिमेट छ ।
विपत् प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण गरेको कागजात आएपछि मात्र दोस्रो किस्ता रकम दिने र यदि त्यो भन्दा फरक भएमा दोस्रो किस्ता रकम नदिने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो , “बाढीपहिरोबाट विस्थापित परिवारले घर निर्माणका लागि दोस्रो किस्ता रकम लिएको र सो अनुसार अझै घर निर्माण नगरेकोले दोस्रो किस्ता रकम रोकिएको हो।”