• २० वैशाख २०८१, बिहिबार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

‘हिंसा प्रतिकारका लागि बलियाे बन्नुपर्छ’

blog

काठमाडौं, मङ्सिर १२ गते । देशभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान जारी छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्सिर ९ गतेदेखि सुरु भएको हो ।

‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ ।

यही अवसरमा  राष्ट्रिय महिला आयोगले हिंसा गर्न हुन्न, सहन हुन्न किनकि यो अपराधजन्य कुरा हो भन्ने कुरा पीडित र पीडक दुवै पक्षमा सचेतना फैलाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । 

आयोगका अध्यक्ष कमला पराजुलीले समाजमा विभिन्न प्रकारका हिंसा हुने गरेकोमा घरेलु हिंसा एवम् यससँग सम्बन्धित उजुरी बढ्दै गएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नितान्त रगत, बिहेबारी र सम्बन्धबाट भएको घरेलु हिंसाको उजुरी बढ्दै गएको छ । यसबाट के अनुमान गर्न सकिन्छ भने महिलाहरू आफ्नै घरपरिवारमा सुरक्षित छैनन् भन्ने कुरा झल्काउँछ ।”

 आर्थिक वर्ष २०७९/८० मा महिला आयोगमा उजुरी भएका ९०२ उजुरीमध्ये ८१८ वटा घरेलु हिंसाका छन् । पछिल्लो साउनदेखि असोजसम्म आयोगमा १६८ वटा घरेलु हिंसा र अरू हिंसाका १३ वटा उजुरी परेका छन् । 

उहाँले न्याय प्राप्तिका लागि हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सचेतनाका कारण उजुरीको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।

पहिले गाउँघरमा लाहुरे जस्तो भएर केटी र घरपरिवारलाई फकाएर मानव बेचबिखन तथा ओसारपसार हुन्थे भने अचेल देखभेट नभईकन नै टेलिफोन, सामाजिक सञ्जालबाट छिमेकी देश भारत मात्र नभई कतार जस्ता खाडी मुलुकदेखि युरोप, अमेरिका, अफ्रिकासम्म पुर्‍याउने भएकाले थप सचेत हुनुपर्ने अवस्था छ ।  बदलिदो जीवनशैली, खुलापनका कारण जबरजस्ती, यौनजन्य हिंसा, मानसिक हिंसाको ट्रेन बढ्दो रहेको उहाँको भनाइ छ । 

‘आँगनमा न्यायालय’ भन्ने परिकल्पना अनुरूप देशभरका सात सय ५३ स्थानीय तहमा न्यायिक समिति छन् । तर जबरजस्ती, मानव बेचबिखन, बालविवाह, बहुविवाह, नागरिकताका लगायत फौजदारी प्रकृतिको उजुरी सम्बन्धमा निरूपण गर्न क्षेत्राधिकारका कारण अप्ठ्याराहरू पनि रहेको उहाँको भनाइ छ । 

पीडितले न्याय प्राप्त गर्न के गर्नुपर्छ भन्ने जिज्ञासामा उहाँले यसका लागि राज्यले ऐन, कानुनको व्यवस्था गरेर मात्र नहुने सबैभन्दा जनस्तरको स्थानीय तहमा नै लैङ्गिक उत्तरदायी बजेट छुट्याइनुपर्ने बताउनुभयो ।

कुटपिट, धक्कामक्का, हातखुट्टा भाँच्ने, चोट लाग्ने जस्ता भौतिक आक्रमण शारीरिक हिंसा हुन् । हतोत्साहित बनाउने, दुर्व्यवहार गर्ने, धम्क्याउने, विभेद गर्ने मनोभावमा चोट पार्नु मानसिक हिंसा हुन् । त्यसो त, आर्थिक लगायत सबै हैसियतले बलिया समाजमा पीडक र पीडित प्राय सबै पक्षमा कमजोर हुने भएकाले यसमा सम्बन्धित निकायले कमजोरको पक्षमा सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “शारीरिक हिंसा औषधीउपचार गर्न पनि मिल्छ । भाइ वा दाजु सरह अवसर नपाउने ? अर्काको घरमा जाने जात हो भनेर विभेद गर्ने यसले शारीरिक रूपमा चोट पुग्दैन तर मानसिक रूपमा पुग्छ । उसको हुर्काइमा नै उ कमजोर हुन्छ । महिलालाई कति पैसा कमाएको छस् ? घरमा बसेर खाकी त छस् नि भनेर गाली गर्ने”, यसरी बोलेको हरेक कुराले दैनिक मानसिक रूपमा आघात पुग्ने उहाँको भनाइ छ ।

महिला हिंसाको कुरा मात्र धेरै उठिरहेको बेला कतै पुरुष पनि हिंसामा परेका छन् कि भन्ने जिज्ञासामा उहाँले त्यस्तो हिंसा भएको छ भने प्रहरी कार्यालय, अदालत वा सम्बन्धित निकायमा जान सकिने बताउनुभयो ।

आयोग लगायतका सङ्घ, संस्थाले ठुला–ठुला होटलमा कार्यक्रम गर्ने, बजेट विनियोजन गर्ने तर पीडितले न्याय नपाउने भन्ने जिज्ञासामा उहाँले विषयवस्तु र लक्षित समूह अनुरूप होटल, चाेउर, विद्यालय वा जुनसुकै स्थानमा कार्यक्रम आयोजना हुन सक्ने भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “कतिपय विषयवस्तुलाई विषयान्तर गर्न यस्ता खालका टीकाटिप्पणी बेलाबखत हुने गर्छ । कहिले होटल, पार्टी प्यालेसमा, स्कुलमा, चाेउरमा, कार्यक्रमको मोडिलाटी अनुसार कार्यक्रमको विषयवस्तु, कुन उद्देश्य, कुन लक्षित समुदायका लागि गरियो भन्ने कुरामा निर्भर हुन्छ ।” 

उहाँले आयोगले भ्रमण गर्ने र तलब, भत्ता मात्र बुझ्ने भन्ने आरोपमा सिँधै असहमत जनाउनुभयो । 

उहाँले भन्नुभयो, “आयोगलाई लगाएको आरोप हो भने थाहा पाउँदा हुन्छ । राष्ट्रपतिलाई पठाएको प्रतिवेदन हेर्नुभयो भने पनि थाहा हुन्छ ।” आयोगले सकारात्मक परिणामका लागि सोच राखेर कार्य गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले हिंसा न्यूनीकरण तथा अन्त्यका लागि आमा, दिदीबहिनी लगायत सबै नागरिकले आफ्नो आत्मसम्मान र स्वाभिमानलाई बचाउनुपर्ने बताउनुभयो । शिक्षा, चेतना, आर्थिक सबलीकरणमा ध्यान दिँदै कुनै पनि प्रकारका हिंसा प्रतिकारका लागि मजबुत बन्नुपर्ने उहाँको भनाइ छ । 

भिडियो : मनोजरत्न शाही

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।