काठमाडौँ, मङ्सिर ११ गते । सोह्रदिने महिला हिंसाविरुद्धको दिवस मनाउने सन्दर्भमा प्रेरणा बटाला एक दिनका लागि गर्ल्स टेक ओभर कार्यक्रम अन्तर्गत राष्ट्रिय महिला आयोगका अध्यक्ष बन्नुभएको छ ।
आयोगको सभा हलमा सोमवार यहाँ आयोजित नेतृत्व हस्तान्तरण सभामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले किशोरी बटालालाई अध्यक्ष पद हस्तान्तरण गर्नुभएको हो ।बालिकाको सशक्तीकरणको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनलले विभिन्न किशोरीमैत्री कार्यक्रममा सहभागी गराउँदै किशोरीलाई नेतृत्वमा रहेर काम गर्ने अनुभव दिलाउन देशभर नेतृत्व हस्तान्तरण कार्यक्रम गर्दैआएको छ ।
किशोरी बटालाले आयोगको अध्यक्ष पदमा रहेर आफूले महिला तथा किशोरीको क्षेत्रमा गर्ने विभिन्न कार्यक्रम सार्वजनिक गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सो अवसरमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले राष्ट्रिय महिला आयोगको स्थापनाको उद्देश्य, लक्ष्य र गतिविधिबारे जानकारी दिँदै बालबालिकाले नेतृत्व तहको दायित्व र जिम्मेवारीबारे अभ्यास गर्दै अगाडि बढाउने प्रयत्नले भविष्यमा नेतृत्व लिई दायित्व पूरा गर्ने सपना देख्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले समाजमा व्याप्त कुरीति, हानिकारक अभ्यासले निम्त्याउने हिंसादेखि आर्थिक, सामाजिक र मानसिक हिंसा र हाल जलवायुको असरले पनि महिला नै बढी प्रभावित हुनुपरेको सन्दर्भमा राज्यलाई महिला सशक्तीकरणमा टेवा पुग्ने नीति बनाउन सुझाव दिँदै आएको बताउनुभयो । आयोगका सदस्य कृष्णकुमारी खतिवडा पौडेलले पितृसत्तात्मक सोच यथावत् रहेको नेपाली समाजमा बालिकाको क्षमता विकास र नेतृत्व लिन घचघच्याइने यस्ता कार्यक्रमले किशोरीको मनोबल बढ्ने बताउनुभयो ।
आयोगका सचिव कमलबहादुर लवटले किशोरीको प्रश्नको जवाफ दिँदै आयोगले महिला, बालिका र किशोरीलगायत सम्पूर्ण महिला वर्गले खेप्दै आएको हिंसाबाट मुक्ति दिलाउने पहलस्वरूप नीतिगत सुधारका लागि सरकारलाई सिफारिस गर्दैआएको बताउनुभयो । प्लान इन्टरनेशनलमा आबद्ध समीक्षा दाहालले किशोरीमैत्री वातावरण बनाउन आयोगलाई नौबुँदे ज्ञापनपत्र बुझाउनुभयो ।