काठमाडौँ, मङ्सिर ११ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा अवार्डबाट सम्मान गरेको छ । नेपाल रग्बी सङ्घको पूर्व अध्यक्ष समेत रहनुभएका घिसिङलाई नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय योगदान दिएकोले सम्मान गरिएको हो ।
उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा घिसिङलाई अवार्ड प्रदान गरियो । घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुनुहुन्छ । घिसिङ सन् २०१२ मा नेपाल रग्बी सङ्घको अध्यक्षमा निर्वाचित भएयता सन् २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । दुई वर्षअघि राखेप सदस्य सचिवमा नियुक्त भएपछि उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।
उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा घिसिङलाई अवार्ड प्रदान गरियो । घिसिङकै नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो । सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एसोसिएट सदस्य प्राप्त गर्दा सदस्य सचिव घिसिङको महत्वपूर्ण भूमिका थियो ।
नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको छ । सन् २०१९ मा एसिया रग्बीको सदस्यमा निर्वाचित भएपछि सदस्य सचिव घिसिङ खासगरी दक्षिण एसियालाई केन्द्रमा राखेर एसियामा रग्बीको विकास र विस्तारमा निरन्तर क्रियाशील रहँदै आउनुभएको छ ।