• ८ जेठ २०८१, मङ्गलबार

‘गाउँको डाक्टर’ को निधनले स्थानीय शोकमग्न

blog

गाउँका डाक्टर नमराज शाहीको निधनपछि अन्त्येष्टिका लागि घाट लगिदै । तस्विर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, मङ्सिर ११ गते । गाउँका डाक्टर उपाधि पाउनुभएका रास्कोट –१ का नमराज शाहीको निधनले गाउँ शोकमग्न बनेको छ । आइतबार उहाँको निधन भएपछि गाउँवासी शोकमग्न भएका हुन् ।

“हाम्रा डाक्टरको निधन भयो, रास्कोट क्षेत्रकै चिकित्सक गुमायौँ” भन्दै स्थानीयहरू मलामीमा सहभागी भएका थिए । रास्कोट नगरपालिका भित्रका तीन वटै साबिकका गाउँ विकास समितिका नागरिकलाई शाहीले सेवा दिंदैआउनुभएको थियो । 

सुत्केरी हुन कठिन भएका महिलाको बच्चा निकाल्नेदेखि साना अप्रेसन समेत गरी धेरै बिरामी निको पारेकाले उहाँलाई यहाँका नागरिकले डाक्टर भनेर चिन्थे । 

“गाउँमा कोही बिरामी हुँदा सिटामोलसम्म दिने कोही थिएनन्” रास्कोट २ का शान्ताकुमारी रोकले भन्नुभयो, “सशस्त्र द्वन्द्वका बेला त झन् गाउँमा कोही बस्दैन थिए । त्यस्तो बेलामा पनि गाउँमै बसेर उहाँले नागरिकको सेवा गर्नुभयो ।” 

पद सिनियर अहेब भए पनि सिपका हिसाबले चिकित्सककै क्षमता राख्नु हुन्थ्यो उहाँले भन्नुभयो । उहाँ नभएको भए मैले मेरो पहिलो सन्तान छोरी सकुशल जन्माउन सक्दैनथे होला उहाँको भनाइ छ ।

राति व्यथा लाग्यो, पेटको बच्चा जन्माउन कठिन भएका बेला उहाँकै सहयोगमा मैले छोरीको जन्म गराएको हुँ उहाँले थप्नुभयो, “आइतबार सिनियर अहेव शाहीको निधनको खबरले हामी गाउँवासी दुःखी बनेका छौँ ।”

क्यान्सर रोगका कारण सिनियर अहेव नमराज शाहीको आइतबार बिहान ४ बजे आफ्नै घरमा निधन भएको स्थानीयको भनाइ छ । रास्कोट नगरपालिकाका निवर्तमान उपप्रमुख मिम्सरा बमले गाउँका डाक्टरको निधनले सिङ्गो नगरपालिका शोकमा डुबेको बताउनुभयो ।