• ९ जेठ २०८१, बुधबार

प्रहरीमा क्युआर कोडबाट उजुरी गर्न सकिने

blog

राममणि दाहाल

हेटौँडा, मङ्सिर ११ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नो सेवालाई प्रभावकारी बनाउन क्युआर कोड प्रयोगमा ल्याएको छ । प्रहरी सेवालाई थप आधुनिकीकरण गर्दै नागरिकका गुनासो तथा सुझाव यथाशीघ्र सम्बोधन गर्न क्युआर कोड प्रचलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

परम्परागत तरिकाबाट सेवा दिइँदै आएकोमा क्युआर कोड प्रचलनमा आएसँगै सेवामा नागरिकलाई सहजतासँगै पहुँच वृद्धि र छिटो सेवा प्रवाह हुने प्रहरी कार्यालयको विश्वास छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले क्युआर कोड सार्वजनिक भएसँगै अब नागरिकले घरबाटै आफ्नो समस्या तथा पिरमर्का जिल्ला प्रहरी कार्यालयमा पठाउन सक्ने जानकारी दिनुभयो । नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न सो कोड प्रयोगमा ल्याइएको उहाँले बताउनुभयो । 

यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए–नभएको विवरण उजुरीकर्तालाई दिइनेसमेत व्यवस्था मिलाइएको छ । क्युआर कोड प्रचलनमा आएसँगै अब नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुधारका लागि घर वा आफू बसेको स्थानबाट प्रविधिमार्फत जानकारी दिन वा उजुरी गर्न सक्नेछन् । 

नागरिकलाई आफ्ना सुझाव, कुनै गुनासा, उजुरी वा निवेदन दिन प्रहरी कार्यालयसम्म पुग्नुपर्ने छैन । क्युआर कोडमार्फत आएका उजुरीहरूको वर्गीकरण गरी जरुरीको आधारमा सम्बोधन गर्ने जनाइएको छ ।