• ६ माघ २०८१, आइतबार

डेङ्गुको ‘हटस्पट’ बन्यो सोल्टी बजार

blog

सोल्टी बजार क्षेत्रमा लामखुट्टे मार्न औषधि छर्किदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, मङ्सिर ११ गते । सर्लाहीको बागमती नगरपालिका –८, सोल्टीबजार क्षेत्रमा डेङ्गुको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । दिनहुँ डेङ्गुका बिरामी बढेपछि सोल्टीबजार क्षेत्रमा लामखुट्टे मार्न औषधि छर्किने, लार्भा खोजेर नष्ट गर्ने र स्थानीय वासिन्दालाई सचेतना प्रदान गर्ने काम सुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक पदम रायमाझीले जानकारी दिनुभयो । 

सङ्क्रमण नियन्त्रणका लागि बागमती नगरपालिकाले स्वास्थ्यकर्मी खटाएको जनाएको छ । स्वास्थ्य संयोजक रायमाझीका अनुसार सोल्टी बजार क्षेत्रका एक सयभन्दा बढी स्थानीयमा डेङ्गुको सङ्क्रमण देखिएको छ । “आइतबार बजार क्षेत्रमा मात्र विवरण सङ्कलन गर्दा ६० भन्दा बढी बिरामी भेटिनुभयो, “स्वास्थ्य शाखा संयोजक रायमाझीले भन्नुभयो, “सोमबारबाट बजार छेउछाउका बस्तीमा पनि बिरामीको विवरण लिन सुरु गरेका छौँ, स्थानीयका अनुसार सय जनाभन्दा बढीमा सङ्क्रमण भएको सूचना आएको छ ।” 

बिरामी फेला परेका घरको सय मिटर आसपाससम्म औषधि छर्किने काम भइरहेको रायमाझीले बताउनुभयो । औषधि छर्किन थालेपछि स्थानीयहरु आफ्नो घरमा बिरामी रहेको भन्दै ‘रिपोर्ट’ लिएर सम्पर्कमा आउन थालेका छन् । 

सोल्टीबजार क्षेत्रमा लामो समयदेखि राखिएको पानीका खाली ड्रममा वर्षाको पानी जमेको पाइएको र ती ठाउँमा बसेका लामखुट्टेबाट डेङ्गु फैलिएको हुन सक्ने स्वास्थ्य शाखा संयोजक रायमाझीले बताउनुभयो । सहकारी संस्था तथा हार्डवेयरले बिक्रीका लागि राखेका खानेपानीका ती ड्रमबाट पानी पोखेर औषधि छर्किने काम गरिएको छ । 

बागमती नगरपालिका –८, का वडाध्यक्ष डम्बरबहादुर कार्कीका अनुसार तीन साता अघिदेखि डेङ्गुको सङ्क्रमण फैलिन सुरु भएको हो । “एउटै घरका पाँच जना सम्मलाई डेङ्गु भएको छ” वडाध्यक्ष कार्कीले भन्नुभयो, “अधिकांशमा बारम्बार उल्टी हुने र शरीर गल्ने समस्या देखिएको छ ।” 

सामान्य अवस्था रहेका बिरामीले बरहथवा र हरिवनका निजी अस्पताल तथा क्लिनिकमा उपचार गराएका छन् । गम्भीर बिरामी परेका केही व्यक्ति उपचारका लागि काठमाडौँ समेत पुगेका वडाध्यक्ष कार्कीले बताउनुभयो । 

स्वास्थ्य शाखा संयोजक रायमाझीका अनुसार बागमती नगरपालिकाले कर्मैया स्वास्थ्य चौकीमा सञ्चालन गरेको जनस्वास्थ्य प्रयोगशालामा डेङ्गुको परीक्षण तथा नगरपालिका मातहतका स्वास्थ्य चौकीमा उपचार हुन्छ । “यहाँका स्थानीयमा निजी अस्पताल र क्लिनिकप्रति बढी विश्वास देखियो” स्वास्थ्य शाखा संयोजक रायमाझीले भन्नुभयो, “उहाँहरु निजी क्लिनिकमै बढी जाँदा हामीलाई सुरुमा सङ्क्रमणबारे जानकारी आएन ।” 

बागमती नगरपालिकाको स्वास्थ्य शाखाले डेङ्गुबाट जोगिन घर वरिपरि पानी जम्न नदिन, सुत्ने बेला झुलको प्रयोग गर्न र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ । स्वास्थ्य शाखा संयोजक रायमाझीले चिसो बढ्दै जाँदा डेङ्गुको सङ्क्रमण घट्ने भए पनि हिजोआज दिनभर घाम लाग्दा डेङ्गु फैलाउने लामखुट्टेका लागि अनुकूल वातावरण बनेको छ ।