काठमाडौं, मङ्सिर ११ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेका छोरालाई निःशुल्क पढाइदिने हुनुभएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेका छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिन लाग्नुभएको हो ।
वि.सं. २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनका मात्र थिए । अहिले तीन वर्ष पूरा भएसँगै मन्त्री बस्नेतले आज (सोमबार) काठमाडौंको टोखा नगरपालिका वडा नं ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिनुभएको हो ।
उहाँले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाइ खर्च आफूले बेहोर्ने बताउनुभएको हो ।
मन्त्री बस्नेतले भन्नुभयो, “कोरोनाका कारण सावित्रीको दुःखद निधन भएपछि मैले घोषणा गरेको थिएँ, उनको नौ दिनको बच्चा सफलको पढाइमा लाग्ने सम्पूर्ण खर्च म आफैँ व्यहोर्छु, अहिले उनको भर्ना गर्न पाउँदा ज्यादै खुशी छु, कक्षा १२ सम्म पढाएर जागिरको व्यवस्थासमेत गर्नेछु ।”
मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताउनुभयो । उहाँले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क बाँडेको उहाँले स्मरण गर्नुभयो ।
विद्यालयका प्राचार्य अधिकारीले कोरोनाबाट ज्यान गुमाएका परिवारको शिक्षाक्षेत्रमा सहयोग गरेको भन्दै मन्त्री बस्नेतलाई धन्यवाद दिनुभयो । प्राचार्य अधिकारीले मृतक चालिसेको जेठो छोरा पहिलेदेखि नै आफ्नो विद्यार्थी भएकाले कोरोनामा दुःखद निधन भएसँगै जेठो छोराको पठनपाठनमा विद्यालयले सहयोग गरेको उल्लेख गर्नुभयो ।
वि.सं २०५७ सालमा स्थापना भएको कान्तिपुर इङ्लिस एकेडेमीमा हाल ५५० विद्यार्थी अध्ययनरत छन् । मृतकका पति विमल चालिसेले कोरोनाबाट आफ्नी श्रीमतीको ज्यान जाँदा मन्त्री बस्नेतले छोराको पढाइको जिम्मा लिएर मानवीय सहयोग गर्नुभएको भन्दै आभार व्यक्त गर्नुभयो ।