• ८ जेठ २०८१, मङ्गलबार

नेतृत्वले देशको आवश्यकता बुझ्न जरुरी: नेता भण्डारी

blog

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर ११ गते । प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका प्रभावशाली नेता डा। चन्द्र भण्डारीले नेपालमा समय अनुसार काम गर्न नसकिएको बताउनुभएको छ । तम्घासमा भएको नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता भण्डारीले हरेक नेतृत्वले देशको आवश्यकता के हो बुझ्न जरुरी रहेको बताउनुभयो । देशमा रिफर्म, पफर्म र ट्रान्सफर्मको अत्यन्तै आवश्यक रहेको भन्दै वर्तमान हरेक नेतृत्व युवाहरूको भावना अनुसार चल्नुपर्ने उहाँले बताउनुभयो ।

‘देशको अर्थतन्त्रमा निकै समस्या आएको छ । नेतृत्वकर्ताले देशको आवश्यकता बुझ्न सकिरहेका छैनन् ।’ उहाँले भन्नुभयो, ‘वर्तमान नेतृत्व आफन्तवादमा रमाएको छ । नेतृत्वलाई देशप्रति कुनै चिन्ता छैन ।’

बदलिएको समयमा सबै फरक ढङ्गबाट हिँड्नुपर्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । प्रतिपक्षसँग नभएर युवासँग प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको भन्दै उहाँले युवाहरूको भावनालाई सबैले बुझ्नुपर्ने बताउनुभयो । समय अनुसार चल्न आवश्यक रहेको उहाँको भनाइ छ ।

सबै एकताबद्ध भएर मुलुकको समस्या समाधान हुने भन्दै उहाँले देशलाई कसैले पनि बिगार्ने अधिकार नभएको बताउनुभयो । देशको आवश्यकता के हो त्यसको बारेमा सोच्न जरुरी भएको उल्लेख गर्नुभयो । देशको बारेमा सपना देख्ने नेतृत्व आवश्यक छ । उहाँले विकल्प धेरै भएको भन्दै सबैले मेहनत गर्न जरुरी रहेको बताउनुभयो ।

नेता भण्डारीले अन्य जिल्लाको तुलनामा गुल्मीमा धेरै विकास भएको भन्दै अझै विकासमा गुल्मीलाई नमुना जिल्ला बनाउने तर्फ लागिएको बताउनुभयो । उहाँले भाषणभन्दा पनि कामलाई विशेष प्राथमिकता दिनुपर्ने भन्दै गुल्मीलाई विकासमा नेपालको नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले काँग्रेस इतिहास बोकेको पार्टी भन्दै विगतका कुराबाट सिक्नुपर्ने बताउनुभयो । उहाँले परिवर्तनका पक्षमा सबै एकै ठाउँमा उभिनुपर्ने भन्दै अब पार्टीलाई युवाहरूको जिम्मा दिन जरुरी रहेको बताउनुभयो । अहिलेको संविधानले स्थिर सरकार दिन नसक्ने भन्दै संविधान संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्यप्रताप सेनले कसैसँग नडराई पार्टीका सबै साथीहरू एकताबद्ध भएर सङ्गठनमा लाग्नुपर्ने बताउनुभयो । काँग्रेसका नेताहरूले बिपीको बाटो नबिराउन आग्रह गर्नुभयो ।

जिल्ला सभापति खिलध्वज पन्थीले सम्मेलनले सबैमा आशा पलाएको बताउनुभयो । विगतका सबै कुरालाई भुलेर एकताबद्ध साङ्गठनिक कार्यमा लाग्न आग्रह गर्नुभयो । पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । ‘गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल’ अभियान सञ्चालन गरिने उहाँको भनाइ छ ।

त्यस अवसरमा लुम्बिनी प्रदेश सदस्य द्रोण खत्री, छन्दबहादुर पहराई, विष्णुकुमारी सापकोटा, माधवप्रसाद खरेल, कल्पना घिमिरेले मन्तव्य राख्नुभयो । जिल्ला कोषाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले पार्टीको गतिविधिको बारेमा जानकारी गराउनुभयो ।

जिल्ला सचिव भगतसिंह खड्काले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै गुल्मी काँग्रेसको भावी योजनाको बारेमा जानकारी गराउनुभयो । अर्का जिल्ला जगदीश भट्टराईले बन्द सत्रको सहजीकरण गर्नुभयो । सहभागीहरूले सल्लाह सुझाव पनि राख्नुभयो ।