• ८ जेठ २०८१, मङ्गलबार

भूकम्पबाट मृत्यु भएका परिवारलाई दुई लाख राहत

blog

मृतकका नजिकका हकदारलाई राहत वितरण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, मङ्सिर ११ गते । रुकुम पश्चिममा भूकम्पको कारण मृत्यु भएकाका सबै परिवारलाई आर्थिक सहायता (राहत रकम) उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले मृतकका परिवारलाई दुई लाखको दरले राहत उपलब्ध गराएको हो । 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भूकम्पको कारण मृत्यु भएका ५३ जनाको परिवारलाई राहत उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार विपद् पीडित उद्धार राहतसम्बन्धी मापदण्ड, २०७७ अनुसार जनही दुई लाख रुपियाँको दरले राहत उपलब्ध गराइएको हो । एकाघरका एकभन्दा बढीको मृत्यु भएको हकमा भने एक जनालाई दुई लाख र अन्य मृतकलाई सङ्ख्याको आधारमा एक एक लाख गरेर उपलब्ध गराइएको हो । 

प्रजिअ पन्तका अनुसार रुकुम पश्चिमबाट ५० जना र सल्यानबाट तीन जना मृतकका परिवारलाई राहत उपलब्ध गराइएको हो । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले ८३ लाख राहत रकम वितरण गरेको हो भने जिल्ला प्रशासन कार्यालय सल्यानले पाँच लाख रुपियाँ वितरण गरेको हो । 

भूकम्पमा परेर आठविसकोट नगरपालिकाका २४ परिवारका ३७ जना जना, सानीभेरी गाउँपालिकामा छ परिवारका १० जना, चौरजहारी नगरपालिकाका एक जना, रोल्पाका एक जना, बर्दियाका एक जना र सल्यानका दुई परिवारका तीन जनाको मृत्यु भएको थियो । त्यसै गरी आठबिसकोट नगरपालिकाका दुई जना र सानीभेरी गाउँपालिकाका दुई जनाको जाजरकोटमा मृत्यु भएको थियो । उहाँहरूको परिवारहरूले प्राप्त गर्ने राहतको लागि भने आवश्यक कागजपत्र सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले कार्यालयमा, मृतक परिवारको घरमा, पायक पर्ने वडा कार्यालयमा पुगेर राहत वितरण गरेको हो ।