• १७ असार २०८१, सोमबार

चिसो बढेपछि खेतमा पढाइ

blog

राजन रावत

हुम्ला, मङ्सिर ११ गते । कर्णाली नदीको किनारमा रहेको सर्केगाड गाउँपालिका–२ र ३ को लिप्नेमा सञ्चालन हुँदै आएको लालीगुराँस माध्यमिक विद्यालयका विद्यार्थी खेतमा बसेर पढ्दै आएका छन् । विद्यालयको कक्षाकोठामा घाम नलागेर चिसो बढ्ने भएपछि विद्यार्थी खेतमा बसेर पढ्नु परेको हो । 

कक्षा ९ मा अध्ययनरत छात्रा पवित्रा फडेराले चिसोका कारण कक्षामा बसेर अध्ययन गर्न कठिन हुन थालेपछि खेतमै घामको पारिलो तापसँगै पढ्नु परेको बताउनुभयो । कर्णाली नदीको किनारमा विद्यालय रहेका कारण कक्षाकोठामा चिसो बढी हुने भएकाले विद्यालयले नै खेतमा पढाउने व्यवस्था गरेको उहाँले जनाउनुभयो । विद्यालयमा दैनिक दुई घण्टा मात्र घाम लाग्ने गर्छ । 

विद्यालयका प्रधानाध्यापक कालीबहादुर महताराले चिसो बढेका कारण कक्षाहरू खेतमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । विद्यालयमा भवनको अवस्था भने राम्रो छ तर चिसो बढी हुने भएका कारण खेतमा कक्षा सञ्चालन गरेको उहाँले जनाउनुभयो । कक्षा १० सम्म अध्ययन हुने उक्त विद्यालयका सबै कक्षा खेतमा सञ्चालन हुने गरेका छन् । खेतमा पनि २ बजेपछि घाम अस्ताउने भएका कारण आगो बाल्नुपर्ने अवस्था पनि आउने गरेको उहाँले बताउनुभयो । 

विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी पढ्ने गर्छन् । शिक्षकहरू पनि कक्षाकोठामा नगएर सिधै खेतमा पढाएपछि मात्र कक्षामा आउने गर्छन् । बोर्डसमेत खेतमै राख्ने गरिएको छ । होचो खोचमा विद्यालय निर्माण गरिएका कारण बर्सेनि यो समस्या भोग्नु परेको प्रअ महताराले बताउनुभयो ।