• ४ जेठ २०८२, आइतबार

सुरक्षित कर्णाली अभियान : सात लाख जनसङ्ख्या लाभान्वित

blog

ललित बसेल

सुर्खेत, मङ्सिर ११ गते । सुरक्षित कर्णाली अभियान अन्तर्गत सञ्चालन गरिएका प्रदेश प्रहरीका विभिन्न आठ वटा अभियानले कर्णाली प्रदेशको झन्डै सात लाख जनसङ्ख्या लाभान्वित भएका छन् । अपराध न्यूनीकरण गरी शान्त र सुरक्षित प्रदेश बनाउनका लागि कर्णाली प्रदेश प्रहरीले सुरक्षित प्रदेश अभियान सञ्चालन गरेको छ ।  गत वर्षको माघ १३ गतेदेखि हालसम्म प्रदेश प्रहरीले विभिन्न आठ वटा अभियान सञ्चालन गरेको छ । जसबाट कर्णालीमा छ लाख एक हजार ३० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुरुमा प्रहरीले गत वर्षको माघ १३ गतेदेखि अन्तव्रिर्mयात्मक गस्ती परिचालन अभियान थालेको थियो । जसमा सात हजार २७१ वटा गस्ती सङ्ख्या परिचालन गरिएको थियो । 

त्यसलगत्तै माघ १८ गतेदेखि यात्रुमैत्री अभियान सञ्चालन गरिएको थियो । जसमा दुई लाख ३२ हजार ५०१ जना यात्रु लाभान्वित भएका थिए । त्यसै गरी गत वैशाख १ गते प्रहरीमा निःशुल्क निवेदन लेखन सहजीकरण अभियान थालिएको थियो । हालसम्म एक हजार ५६५ जनाको प्रहरीमा निःशुल्क निवेदन लेखी सहयोग गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकालले बताउनुभयो । यस्तै वैशाख ३१ गतेदेखि नागरिक सहजकर्ता परिचालन अभियान सञ्चालन गरी हालसम्म दुई लाख १२ हजार ४७६ जना लाभान्वित भएका छन् भने असार ३१ गतेदेखि घर घरमा स्टिकर टाँस अभियान थालिएको थियो । यस अभियानबाट हालसम्म दुई लाख २७ हजार ४२४ घरधुरीमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस गरिएको छ । 

यसै गरी गत असोज २४ गतेदेखि पीडित सहायता अभियान सञ्चालन गरी ४६१ जनालाई सहायता प्रदान गरिएको छ भने असोज २५ गतेदेखि लागुऔषध दुव्र्यसनविरुद्ध लाल्टिन अभियान थालिएको छ । लाल्टिन अभियानमा वडा वडामा लाल्टिन समूह गठन गरिने छ । जसमा अहिलेसम्म सुर्खेत जिल्लामा नौ वटा समिति गठन गरिएको छ भने अन्य गठन गर्ने क्रम जारी छ । गत हप्तादेखि गुनासो सुन्नका लागि क्युआर कोड प्रयोग अभियान थालिएको छ । जसमा प्रहरीमा अब मोबाइलको क्युआर कोड प्रयोग गरेर पनि गुनासो टिपाउन सकिने अभियान थालिएको छ । सीमित जनशक्ति र स्रोत साधनबाट प्रहरीले सुरक्षित प्रदेश बनाउन विभिन्न अभियान सञ्चालन गरेको डिआइजी ढकालले बताउनुभयो । 

प्रहरीले सञ्चालन गरेका यी अभियानबाट प्रहरीसमक्ष गुनासो टिपाउने प्रवृत्ति ५० प्रतिशतले बढेको दाबी उहाँले गर्नुभयो । साथै प्रहरीप्रति पनि जनताले विश्वास बढाउँदै गएको र प्रहरीलाई आफ्नो सहयोगी ठान्ने क्रम पनि बढ्दै जाँदा प्रदेश प्रहरीले ठुलो उपलब्धिका रूपमा लिएको उहाँको भनाइ छ । कर्णाली प्रदेशमा लागुऔषध दुव्र्यसन, आत्महत्या, सवारी दुर्घटना, घरेलु हिंसा, बलात्कार जस्ता घटनाहरू बढी हुने गरेका छन् । कर्णाली प्रदेशका सबै प्रहरी युनिटबाट यी अभियानहरू सञ्चालन भइरहेको हुँदा आगामी दिनमा लाभान्वित हुने जनसङ्ख्या अझ बढ्ने प्रदेश प्रहरीले जनाएको छ । यो अभियानलाई स्थानीय तह, प्रदेश सरकार तथा नागरिक समाजका साथै सर्वसाधारणले पनि सहयोग र समर्थन गरेका छन् ।