• १० पुस २०८१, बुधबार

नाम्खामा नयाँ गुफा

blog

हुम्ला समाचारदाता

हुम्ला, मङ्सिर ११ गते । जिल्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिका–५ र ६ वडाको सिमानामा पर्ने तुम्कोटभित्रको चट्टानी भिरमा नयाँ गुफा पत्ता लागेको छ । तुम्कोटबाट लिमी जाने क्रममा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको टोलीले सो गुफा पत्ता लगाएको हो । 

अध्यक्ष लामाले तुम्कोटबाट लिमीतर्फ जाने क्रममा चट्टानी भिरको छेउमा गुफा भेटिएको बताउनुभयो । अध्यक्ष लामाको टोली लिमीका योजनाको अनुगमन गर्न सो क्षेत्रमा पुगेको थियो । 

उहाँले अब यस गुफाको प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । गुफाको आधा भागसम्म अध्यक्ष लामाको टोली पुगेको थियो । उज्यालोको व्यवस्था नभएका कारण त्यसअगाडि भने जान सकेको थिएन । 

उहाँले गुफाको अध्ययनका लागि प्राविधिक टोली गाउँपालिकाले खटाउने र त्यसको लम्बाइ, चौढाइसँगै अन्य कुरा जान्न सकिने बताउनुभयो । यसको संरक्षण तथा प्रवर्धनका लागि गाउँपालिका लाग्ने बताउँदै उहाँले पर्यटक तान्न गुफा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।