• ८ जेठ २०८१, मङ्गलबार

कर्णालीका पहुँच मार्ग निर्माणमा ढिलासुस्ती

blog

बुलबुले समाचारदाता

सुर्खेत, मङ्सिर ११ गते । कर्णालीका पहुँच मार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राष्ट्रिय गौरवका रूपमा रहेका ती सडक हालसम्म पनि निर्माणकै क्रममा छन् । केही निर्माणको अन्तिम चरणमा छन् भने केहीको ट्र्याक खोल्ने काम भइरहेको छ । 

‘लाइफलाइन’ कै ट्र्याक खोल्न ढिलासुस्ती

कर्णाली प्रदेशकै ‘लाइफलाइन’ का रूपमा हेरिएको कर्णाली कोरिडोरको ट्र्याक खोल्ने काममा ढिलासुस्ती भएको छ । एक दशक बितिसक्दा पनि ट्र्याक निर्माणकै काम सकिएको छैन । कोरिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सिमकोटसम्म २६८ किलोमिटर सडकखण्ड निर्माणमा ढिलासुस्ती भइरहेको छ । यो खण्डमा २४ प्रतिशत भौतिक प्रगति भएको छ भने हालसम्म २० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । २६८ किलोमिटर सडकमध्ये २६६ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ । 

६८२ किलोमिटर कुल लम्बाइ रहेको कोरिडोरले बाँकेको जमुनाहादेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमा क्षेत्र हिल्सासम्म जोड्छ । एक दशकपहिले सडक निर्माण सुरु भए पनि कठिन भूगोलका कारण अझैसम्म पूर्ण रूपमा ट्र्याक खोल्न सकिएको छैन । कडा चट्टान भएका खण्डमा ‘ब्लास्टिङ’ मा पनि लामो र झन्झटिलो प्रव्रिmया रहेको आयोजना प्रमुख वीरेन्द्रबहादुर चन्दले बताउनुभयो । ब्लास्टिङका लागि आवश्यक सामग्री सेनाबाट लिनुपर्ने हुँदा समय लाग्ने गरेको उहाँको भनाइ छ । कठिन भूगोलका कारण अपेक्षित काम नभएको भन्दै उहाँले सिमकोटभन्दा माथि मौसमका कारण छ महिनाभन्दा बढी काम गर्न नसकिएको जानकारी दिनुभयो ।

हुम्लाको माथिल्लो क्षेत्रमा ट्र्याक पनि खुलिसकेको छ भने हुम्लाभन्दा तल्लो क्षेत्रमा ठेक्का प्रव्रिmया अघि बढाइएको छ । हुम्ला सलिसल्लाबाट सिमकोट खण्डमा दुई किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ । खुलालुदेखि सलिसल्लासम्म स्तरोन्नतिको काम भइरहेको आयोजनाले जनाएको छ । यस वर्ष पनि स्तरोन्नतिका लागि ठेक्का हुने आयोजना प्रमुख चन्दले बताउनुभयो । 

कोरिडोर निर्माण सम्पन्न भए हिल्सा–जमुनाहासम्म उत्तरदक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सडक बन्ने छ । आयोजना निर्माणमा एक अर्ब ३६ करोड खर्च भइसकेको छ भने हालसम्मको ठेक्का रकम दुई अर्ब ३० करोड ९२ लाख रहेको आयोजना प्रमुख चन्दले जानकारी दिनुभयो । कोरिडोर निर्माण सम्पन्न गर्न छ अर्ब ६६ करोड ९९ लाख १० हजार लागत अनुमान रहेको छ । चालु आर्थिक वर्षमा सरकारले कर्णाली कोरिडोरको उत्तरी खण्ड सलिसल्लादेखि हिल्सासम्मको सडक निर्माणका लागि ३१ करोड दुई लाख २० हजार बजेट विनियोजन गरेको छ । यो खण्डमा सात वटा मोटरेबल पुल निर्माण भइरहेका छन् ।

भेरी कोरिडोर त्रिदेशीय नाका जोड्ने सडक

त्रिदेशीय नाका जोड्ने भेरी कोरिडोर निर्माणको काम भइरहेको छ । सडकलाई तीन खण्डमा बाँडेर धमाधम काम अघि बढाइएको हो । कर्णाली प्रदेशलाई चीन र भारतीय नाकासँग जोड्ने सडक सञ्जालका रूपमा यो कोरिडोर अघि बढाइएको हो । सडकले भारतको रुपैडियादेखि तिब्बतको मरिम्लासम्म जोड्ने छ ।

कोरिडोर अन्तर्गत अहिले जाजरकोटको पासागाडदेखि रिम्नासम्मको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । उक्त खण्डमा ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । १५ किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ भने एक किलोमिटर सडक मात्र कालोपत्रे हुन बाँकी रहेको छ । घरटहरा हटाउनुपर्ने भएपछि विवाद हुँदा काम अघि बढ्न नसकेको भेरी कोरिडोर सडक योजनाका इन्जिनियर महेन्द्र माझीले बताउनुभयो । 

आव २०७६/७७ बाट ठेक्का सम्झौता भई काम सुरु भएको थियो । दिवा–यती बिल्डर्स जेभीसँग करिब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० असार मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि मुआब्जा विवादले काम रोकिएको माझीले जानकारी दिनुभयो । एक किलोमिटर सडक कालोपत्रे गर्न पुनः म्याद थपका लागि प्रव्रिmया अघि बढाइएको उहाँको भनाइ छ । भेरी कोरिडोर अन्तर्गतको यो पहिलो खण्ड हो । उक्त खण्डमा हालसम्म २५ करोड बजेट खर्च भइसकेको छ ।

कोरिडोरको दोस्रो खण्ड रिम्नादेखि तल्लु बगरसम्मको ४० किलोमिटर सडकमा समेत काम धमाधम भइरहेको छ । सडक फराकिलो बनाउने, पर्खाल, नाला, सबबेस र बेस निर्माणको काम भइरहेको इन्जिनियर माझीले जानकारी दिनुभयो । भ्याटसहित एक अर्ब आठ करोड रकममा ठेक्का सम्झौता भएको जनाइएको छ । हालसम्म करिब ३४ करोड रकम खर्च भइसकेको छ । रिम्नादेखि तल्लु बगरसम्मको ४० किलोमिटर सडक कालोपत्रे हुने छ । ठेक्का सम्झौता अनुसार २०८२ भदौ १४ सम्ममा कालोपत्रे गरिसक्नुपर्ने छ । यस वर्षदेखि उक्त खण्डमा कालोपत्रेको काम सुरु गरिने आयोजनाले जनाएको छ ।

यस्तै आयोजनाको तेस्रो खण्डका रूपमा रहेको डोल्पा जिल्लाको सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको निर्माण कार्य पनि भइरहेको छ । यस सडकखण्ड निर्माणका लागि २०७८ चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । १३ करोड ४१ लाखमा ठेक्का सम्झौता गरिएकामा अहिलेसम्म ९९ लाख बजेट मात्र खर्च भएको छ । २० किलोमिटर सडक चौडा गर्ने कार्यका लागि ठेक्का सम्झौता भएको हो । २०८२ चैतसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने छ । भेरी कोरिडोर अन्तर्गत जाजरकोटदेखि डोल्पा सदरमुकामसम्म कुल लम्बाइ २१७ किलोमिटर छ भने करिब एक सय किलोमिटरमा निर्माण कार्य भइरहेको छ । 

मध्यपहाडी राजमार्ग निर्माण अन्तिम चरणमा

राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा धमाधम कालोपत्रे भइरहेको छ । सडक फराकिलो बनाउने, टेवा पर्खालसहित पुल निर्माण र कालोपत्रेको काम भइरहेको हो ।

कर्णाली प्रदेशभित्र पर्ने खण्डको काम अन्तिम चरणमा पुगेको मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखकी प्रमुख कुशलता न्यौपानेले जानकारी दिनुभयो । 

रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, दैलेख र अछाम जिल्लामा पर्ने सडकको स्तरोन्नति तथा कालोपत्रे गर्नेसम्मका काम धमाधम भइरहेका छन् । राजमार्ग योजना कार्यालय दैलेखले रुकुमपूर्व जिल्लाको पातिहाल्नेदेखि रुकुमपश्चिम, जाजरकोट र दैलेख हुँदै अछामको चौखु्टटेसम्मको ४४० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिरहेको छ । 

अहिले दैलेख–जाजरकोट खण्डमा कालोपत्रेलगायतका काम धमाधम चलिरहेका छन् । निर्धारित समयावधिभित्रै निर्माण कार्य सम्पन्न गर्नेगरी द्रुत गतिमा काम अघि बढाएको छ । कालोपत्रेसँगै लामो समयदेखि कच्ची सडकमा यात्रा गर्दा झेल्नु परेको असहजता स्थानीयमा हटेको छ ।

राजमार्गका धेरै सडक कालोपत्रे भइसकेका छन् । ४४० किलोमिटरमध्ये ३६५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । अब ७५ किलोमिटर सडक मात्र कालोपत्रे हुन बाँकी छ । दैलेख खण्डमा ९० प्रतिशत काम सम्पन्न भएको छ । १२५ किलोमिटर लामो दैलेख खण्डमा करिब एक सय पाँच किलोमिटर कालोपत्रेको काम सकिएको छ । काम अन्तिम चरणमा पुगेको कार्यालयका इन्जिनियर अमित मण्डलले जानकारी दिनुभयो । 

यस्तै एक सय सात किलोमिटर अछाम खण्डको सबै कालोपत्रे सकिएको छ । अहिले अछाममा कचरौटे खोलामा पुलको काम भइरहेको छ भने केही पहिरोग्रस्त खण्डमा मर्मत कार्य चलिरहेको छ ।

त्यसै गरी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा ८३ किलोमिटरमध्ये करिब ६० किलोमिटर कालोपत्रेको काम सकिएको छ । बाँकी कालोपत्रे र अन्य काम पनि धमाधम भइरहेको जनाइएको छ । रुकुमपश्चिममा ७० किलोमिटर सडक पूरै कालोपत्रे गरिसकिएको छ । पुराना पुल मर्मत र पहिरो पन्छाउनेलगायतका काम भइरहेका छन् ।

रुकुमपूर्वमा ५५ किलोमिटरमध्ये करिब ३० किलोमिटर कालोपत्रे सकिएको छ । अहिले कालोपत्रे र अन्य काम भइरहेका छन् । “सबै योजनाको काम द्रुत गतिमा भइरहेको छ,” इन्जिनियर मण्डलले भन्नुभयो, “विशेष गरी दैलेख–जाजरकोट खण्डमा काम अघि बढेको छ । अन्य खण्डमा पनि काम भइरहेको छ ।”

सरकारले आर्थिक वर्ष २०६४/६५ मा यो आयोजना निर्माण सुरु गरेको हो । पछिल्लो समय यो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएको छ । अहिले मध्यपहाडी राजमार्गको आधाभन्दा धेरै काम सकिएको छ । सरकारले स्वदेशी पुँजीमा पूर्वपश्चिम राजमार्गकै विकल्पमा २६ वटा पहाडी जिल्लालाई जोड्ने गरी मुलुककै दोस्रो लाइनफाइनका रूपमा मध्यपहाडी राजमार्ग निर्माण अघि बढाएको हो । यो राजमार्गले पूर्वमा पाँचथरको  चिवा भन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म छुने छ ।

कर्णाली राजमार्ग स्तरोन्नति हुँदै

कर्णाली राजमार्गमा पहिरो रोकथाम गर्न मर्मतको काम थालिएको छ । सुर्खेतको बाङ्गे सिमलदेखि दैलेखको दही खोलासम्मको १३२ किलोमिटर सडकमा पहिरोको जोखिम कम गर्न मर्मत थालिएको हो । बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेपछि मर्मत गर्न लागिएको हो ।

गत वैशाखमा १५ करोड बजेट सुनिश्चित गरेर काम अघि बढाइएको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका इन्जिनियर अशोक चौधरीले जानकारी दिनुभयो । सोही कामका लागि जेठमा तीन वटा ठेक्का सम्झौता गरिएको थियो । त्यसै गरी भदौमा थप अर्को ठेक्का सम्झौतासमेत गरेर काम सञ्चालन भइरहेको छ ।

राजमार्गमा पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि राजमार्ग स्तरोन्नतिको काम अघि बढाइएको छ । पहिरो जान सक्ने सम्भावित ठाउँहरूको अध्ययन गरेर काम अघि बढाइएको चौधरीको भनाइ छ । 

यस कार्यालय अन्तर्गत पर्ने १३२ किलोमिटर सडकमा पहिरोको जोखिम रहेका क्षेत्रमा ग्याबिन वाल निर्माणको काम भइरहेको हो । 

कालीकोट–जुम्ला खण्ड स्तरोन्नति हुँदै

कर्णाली राजमार्ग अन्तर्गत कालीकोटदेखि जुम्ला खण्ड स्तरोन्नतिको कामले तीव्रता पाएको छ । दैलेख र कालीकोटको सिमाना दही खोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नतिको काम अघि बढाइएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाले मर्मतको काम गरिरहेको छ । राजमार्गमा सडकको नियमित कामसँगै सडक मर्मतको काम थालिएको कार्यालयका इन्जिनियर चित्र चौलागाईंले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो । २०८० असारमा आठ वटा खण्डमा ठेक्का सम्झौता गरिएको छ । छ महिनामा काम सक्ने गरी ठेक्का सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८० पुसमा काम सम्पन्न गर्नुपर्ने छ ।

दही खोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म १०४ किलोमिटर छ । इन्जिनियर चौलागाईंका अनुसार सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । मर्मतका लागि ८० करोड बजेट विनियोजन भएको छ । साँघुरा सडक फराकिलो बनाउने, पहिरो गएको स्थानमा पर्खाल निर्माण गर्ने, नाला निर्माण गर्नेलगायतका काम भइरहेका छन् । बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेपछि मर्मत गर्न लागिएको हो । आवश्यकताका आधारमा ग्याबिन वाल निर्माण पनि गरिएको कार्यालयले जनाएको छ ।

नाग्म–गमगडी खण्डमा छ किलोमिटर कालोपत्रे

नाग्म–गमगडी सडकको साढे छ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी नाग्म–गमगडी सडकको साढे छ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो ।