सिँजा समाचारदाता
सिँजा (जुम्ला), जेठ ४ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले सामुदायिक विद्यालयमा रैथाने कृषि उपजको दिवा खाजा खुवाउने कार्यतालिका बनाएको छ । १९ वटा सामुदायिक विद्यालय र ४१ वटा बालविकास केन्द्रमा यसै शैक्षिक सत्रबाट कृषि उपजको दिवा खाजा खुवाउने गरी कार्यतालिका बनेको हो ।
आइतबार मार्सी चामलको पोसिलो जाउलो, सोमबार कोदोको हलुवा र तरकारी, मङ्गलबार मकै र सिमीको कोल (गेडा), बुधबार मकैको ढिँडो, बिहीबार मार्सी चामलको खिर र शुव्रmबार भुटेको मकै र भटमासको खाजा खुवाउने कार्यतालिका बनेको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक, बालविकास सहजकर्ता र जनप्रतिनिधिसहितको सहभागितामा दिवा खाजाको कार्यतालिका तयार गरिएको चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईले बताउनुभयो ।
उहाँका अनुसार सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन, शैक्षिक गुणस्तरमा सुधार ल्याउन र रैथाने बालीको प्रयोग तथा उत्पादन वृद्धिका लागि कृषि उपजमा आधारित विद्यालयमा दिवा खाजा गरिएको छ । जसले बालबालिकाको पोषणमा सुधार ल्याउने अपेक्षा गरिएको चौलागाईको भनाइ छ । पोषणयुक्त दिवा खाजा बनाउन कुन अन्नको मात्रा गति हाल्ने, कति पकाउनेलगायतका विषयमा छलफल भएको छ । रैथाने बालीको संरक्षण र प्रवर्धनका सामुदायिक विद्यालयमा कृषि उपजमा आधारित दिवा खाजालाई कार्यान्वयन गर्न कार्यतालिका निर्माण भएको नगर उपप्रमुख रामदेवी खड्काले बताउनुभयो । यसले गर्दा किसानको उत्पादन खपत हुने र विद्यार्थीले पोसिलो खाजा प्रयोग गर्न पाउने छन् ।
कृषि उपजमा आधारित दिवा खाजा कार्यव्रmमलाई प्रभावकारी बनाउन उहाँले अनुरोध गर्नुभएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइराख्न र स्थानीय उत्पादनको प्रयोगलाई जोड कृषि उपजको दिवा खाजा अनिवार्य गरिएको छ । यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले स्थानीय उपजको प्रयोग गर्दा किसानले मूल्य पाउने बालबालिकाले पोसिला खान पाउने बताउनुभयो । स्थानीयस्तरमा उत्पादन भएको कृषि उपजको प्रवर्धन गर्न खोजिएको हो । उहाँका अनुसार गाउँमै उत्पादन भएको रैथाने बालीको प्रवर्धन र पहिचान बढाउने गरी दिवा खाजामा कृषि उपज समावेश गरिएको छ । स्थानीयस्तरमा उत्पादन भएको रैथाने बालीलाई प्रवर्धन तथा प्रचारप्रसार गर्ने गरी नगरपालिकाले सबै सामुदायिक विद्यालयमा प्रत्येक दिन अनिवार्य कृषि उपजजन्य परिकार खुवाउन उहाँले सुझाव दिनुभएको छ ।
सोमबार चन्दननाथ नगरपालिकाको आयोजनामा विश्व खाद्य कार्यक्रमको सहयोग र सहजीकरणमा रेरास परियोजना अन्तर्गत स्थानीय कृषि उपजमा आधारित पोषणयुक्त दिवा खाजाको कार्यतालिका बनाइएको हो । हिमाली भेगमा सरकारले १८० दिन बराबर प्रतिविद्यार्थी २५ रुपियाँका दरले खाजाबापत रकम उपलब्ध गराउँदै आएको छ । आठ अर्ब रकम सरकारले प्रत्येक वर्ष दिवा खाजामा खर्च गर्दै आएको छ । कक्षा १ देखि ५ सम्मका बालबालिकाले दिवा खाजा खाने गरेका छन् । देशभर ३५ लाख बालबालिका दिवा खाजाबाट लाभान्वित भएका छन् ।