प्रतीक इच्छुक शर्मा
सल्यान, मङ्सिर १० गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्राविधिक शिक्षा पढेर विदेश जानु नपर्ने बताउनुभएको छ । उहाँले देशमा नै रोजगारीका थुप्रै अवसर रहेकाले प्राविधिक शिक्षा पढेर विदेश पनि जानु नपर्ने र बेरोजगारी भएर बस्नु पनि नपर्ने बताउनुभएको हो ।
सल्यानको शारदा नगरपालिका–४ साहु टोलमा रहेको सहिद नेत्रलाल बहु प्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । अव प्राविधिक विषय पढेर विदेश जानु पर्दैन, नेपालमा पढेर आर्जन गरेको ज्ञान नेपालमा नै लगाउने हो, यही लगानी गर्ने हो, रोजगारी यही मिल्छ’ ज्वालाले भन्नुभयो ‘असुरक्षित भएर रोजगारी खोज्दै विदेश जानुपर्दैन, मेहनतका साथ पढौँ, देशका लागि दक्ष जनशक्ति आवश्यक छ ।’ उहाँले प्राविधिक शिक्षा आर्जन गरेर विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिनुपर्दछ ।
अहिले पढ्दै कमाउँदै कार्यक्रम पनि सञ्चालनमा रहेकाले यसले विद्यार्थीलाई पठन कार्यमा निर्धक्क भएर लाग्न सहज हुने छ । संरचनागत सुधार गर्नुपर्छ भने गरौँ, नयाँ विषय थप गर्नुपर्छ भने गरौँ, अहिले सिभिल इन्जिनियरिङ र पशु विज्ञान पढाइ भइरहेको छ, अव आइटी र फार्मेसी विषय थप गर्ने विषयमा म पनि सहयोग गर्छु’ उहाँले भन्नुभयो ‘यहाँबाट उत्पादन भएको जनशक्ति देश निर्माणमा लागोस्, विदेश जानुपर्ने बाध्यताको अन्त्य होस् ।
शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले रोजगारीका अवसर प्राप्तिका लागि प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । उहाँले भन्नुभयो हाम्रै पालिकामा प्राविधिक शिक्षालय हुनु हामी सबैको गौरवको विषय हो, विद्यार्थीले पढ्ने वानीको विकास गर्नुपर्छ, प्राविधिक विषय पढेपछि रोजगारीका अवसर थुप्रै भेटिन्छन् ।
सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठान संरक्षक विष्णु पौडेलले समाज रूपान्तरणका लागि सहिद नेत्रलालले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
पन्त आकृति जेभि बुटवलले भ्याट बाहेक २ करोड ९५ लाख ४५ हजार ८१३ रुपैयाँमा प्रशासन र प्रयोगशाला भवन निर्माणको जिम्मा लिएका थियो । २०७९ असार ८ गते भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।