• ५ जेठ २०८१, शनिबार

रुपन्देही सामाजिक सञ्जालको परोपकारी काम

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १० गते । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोख्रेलले प्रदेशमा रहेर पनि नेपालमा परोपकारी तथा सामाजिक सेवामा लागेको अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको कामप्रति खुसी व्यक्त गर्नुभएको छ ।

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको सिड्नीमा भएको चौथो अधिवेशनका अवसरमा राजदूत पोख्रेलले पर्यटन, स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्को समयमा नेपाल र अष्ट्रेलियामा सञ्जालले गरेको परोपकारी सामाजिक कार्यप्रति खुसी व्यक्त गर्नुभएको हो । उहाँले कामको सिलसिलामा अष्ट्रेलियामा रहे पनि नेपाल र नेपालीप्रति समाजले देखाएको सहयोगको भावले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो ।

यसैगरी कार्यक्रमका अध्यक्ष मुक्तिराम पोखरेलले दुई वर्षको कार्यकालमा आफ्नो नेतृत्वमा भए गरेका कामका बारेमा जानकारी गराउनुभयो । उहाँले सञ्जालको नेतृत्वमा मानवीय, सामाजिक तथा परोपकारी कार्य गर्न सहयोग गर्ने सबै सहयोगीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । अध्यक्ष पोखरेलले आगामी दिनमा पनि सेवाभावका काम गर्न सहयोगको अपिल समेत गर्नुभयो ।

पोखरेल आफ्नो धारणा राख्दै संस्थाको स्थापना कालदेखि नै मानवीय एवं परोपकारी कार्यहरू कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकालाई सहयोग, क्यान्सरपीडितलाई सहयोग, भूकम्पपीडितलाई एनआरएनएमार्फत सहयोग, अनाथ आश्रममा रहेका फरक क्षमता तथा सीमान्त अनाथ तथा अपाङ्ग बालबालिका लाई शैक्षिक सामग्री, न्यानो कपडा वितरण मानवीय तथा परोपकारी कार्यका लागि रक्तदान कार्यक्रम, अस्पताल तथा स्वास्थ्य सामग्री वितरण, उत्प्रेरणामूलक जिवनउपयोगी ज्ञानमूलक सत्सङ्ग अभिमुखीकरण, साहित्यिक तथा सांस्कृतिक संरक्षणका लागि साहित्यिक साक्षरता कार्यक्रम, महिलाको तिज कार्यक्रम, नेपाली तथा अङ्ग्रेजी नयाँ वर्षमा चेतनामूलक तथा सांस्कृतिक संरक्षणमा टेवा पुग्नेजस्ता कार्यक्रमहरू, अक्षयकोष मार्फत असहाय बालबालिकालाई शैक्षिक अध्ययनमा सहयोग सीमान्तकृत असहाय एवम् अपाङ्ग बालबालिका शैक्षिक सामग्री तथा विद्यालय पोसाकजस्ता कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा अस्ट्रेलियाका निवर्तमान वहुसांस्कृतिक तथा ज्येष्ठ नागरिक मन्त्री मार्क जोसेफ कोरले सञ्जालले बहु सांस्कृतिक संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । यसैगरी कार्यक्रममा फेन्काका उपाध्यक्ष डा. मधुसूदन पुडासैनीले भूगोलको हिसाबले पर भए पनि समाजको सक्रियतामा कर्मभूमिबाट जन्मभूमिप्रति गरेको सहयोग र सेवा सह्रानीय रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष डा. विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए ओसियाना क्षेत्रीय उपसंयोजक अरुणकुमार ठाकुर, वरिष्ठ समाजसेवी डा. नारायण प्रधान, बुटवल उपमहानगरपालिकाका पूर्वमेयर शिवराज सुवेदीलगायतको सहभागिता थियो ।

कार्यक्रममा अष्ट्रेलियामा रहेर स्वास्थ्य क्षेत्रमा योगदान गर्नुहुने डा. सिर्जना शर्मालाई सम्मान गरिएको थियो । उहाँले स्वास्थ्य क्षेत्रमा योगदान गरेबापत उहाँलाई सम्मान गरिएको हो । यसैगरी कार्यक्रममा पण्डित नारायण शास्त्रीले रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले सामाजिक सेवासँगै समुदायमा सदभाव विकास गराउने कार्यमा समेत गरेको योगदानको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा प्रशंसा स्वार र सुषुम्ना खरालले नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुत गर्नुभएको थियो ।

अधिवेशनबाट दुई वर्षका लागि दिवाकर काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्ष रञ्जिता भण्डारी, महासचिव सूचना पाण्डे, कोषाध्यक्षमा प्रदीप पन्थी, सचिवमा कमल चापागाईँ, परियोजना संयोजक कमल भण्डारी, पब्लिक अफिसर राजन खड्का, महिला संयोजक गायत्री पौडेल, खेलकुद संयोजक सरोज पाठक, सूचना प्रविधि संयोजक सरोज पाण्डे, सांस्कृतिक संयोजक प्रदीप खनाल रहनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरूमा पदम अधिकारी, योगेश पराजुली, राजु खनाल, झ्यागंजी खरेल, संयोग गौतम, रे खरेल, सृजना खड्का, शङ्कर शर्मा, घनश्याम पाण्डे, वसन्त भण्डारी र सुनिता न्यौपाने रहनुभएको छ । यसैगरी सञ्जालको सल्लाहकारमा डा. प्रकाश पौडेल, रोशन कोइराला, टिएन अर्याल, राम चालीसे, चुन्ना क्षेत्री, प्रमोद कार्की रहनुभएको छ । संरक्षकमा राज खनाल, कृष्ण गैरे, ईश्वर पोखरेल र मुक्तिराम पोख्रेल रहनुभएको छ ।