• ९ जेठ २०८१, बुधबार

किसानलाई प्लाष्टिकको पाल र तरकारीकाे बीउ सहयोग

blog

बीउ र पाल पाएपछि किसान ।

राजन रावत

हुम्ला, मङ्सिर १० गते । सहकारी संस्थामा आबद्ध महिला किसानलाई ग्रीनहाउस निर्माणका लागि प्लाष्टिकका पाल र बीउ सहयोग गरिएको छ । बेमौसमी तरकारी उत्पादन गरेर आयआर्जनमा वृद्धि गर्न ती सामग्री सहयोग गरिएको हो । 

स्नोल्याण्ड एकीकृत विकास केन्द्रद्वारा सञ्चालन गरिएको एकीकृत सामुदायिक विकास परियोजनाका संयोजक रमेशबहादुर शाहीले तीन वटा सहकारीमा आबद्ध कृषकहरुको जीविकोपार्जन सुधार र बेमौसमी तरकारी उत्पादनका लागि ग्रीनहाउस निर्माण गर्न पाल र बीउ सहयोग गरिएको बताउनुभयो । 

६६ जना महिला किसानलाई एक एक थान पाल र छ प्रकारका बेमौसमी तरकारीको बीउ सहयोग गरिएको हो । हिउँदे याममा जिल्लामा ग्रीन हाउसमा बाहेक अन्यत्र तरकारी पलाउन नसकिने भएको कारण यो कार्यक्रम राखिएको हो । यसरी पाल र बीउ पाउने किसानहरुकामा खार्पुनाथ गाउँपालिका– ४ को दुधकुण्ड महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका ३२ जना, सिमकोट गाउँपालिकाको पञ्चमुखी दुधेदह कृषि सहकारी संस्थाका २२ जना र मष्टोदेव कृषि सहकारी संस्थाका बाह्र किसानलाई तरकारी उत्पादन गर्न यी सामग्री सहयोग गरिएको छ । 

यसअघि ती किसानहरुले आफ्नो बारीमा ग्रीनहाउस निर्माणका लागि आवश्यक संरचना तयार पारेका थिए । केन्द्रका निर्देशक गोविन्दबहादुर शाहीले यी सामग्री सबै गुडनेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोगमा निःशुल्क प्रदान गरिएको बताउनुभयो । पछिल्ला वर्षहरुमा ग्रीनहाउसमा तरकारी उत्पादन गरेर आम्दानी गर्ने किसानको सङ्ख्या वृद्धि भइरहेको छ ।