• ८ जेठ २०८१, मङ्गलबार

द्वन्द्वपीडित महिला पशुपालनमा सक्रिय

blog

राजापुरमा बाख्रा पालनमा सक्रिय द्वन्द्वपीडित महिला । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १० गते । बर्दियाको राजापुर नगरपालिकाका २० जना द्वन्द्वपीडित महिला जीविकोपार्जनका लागि अहिले पशुपालनमा व्यस्त रहेका छन् ।

उनीहरूले पशुपालनबाट राम्रो आम्दानी गर्दैआफ्नो परिवारको गुजारा चलाउनुका साथै बचत पनि गर्न थालेको नगरपालिकाले जनाएको छ । राजापुर नगरपालिकाका प्रमुख दीपेश थारुका अनुसार राजापुरका २० जना द्वन्द्वपीडित महिलालाई जीविकोपार्जनका लागि नगरपालिकाले भैंसीपालन गर्न जनही दुई–दुई वटाका दरले ४० वटा पाडी दिएको छ । नगरका १५ द्वन्द्वपीडित महिलालाई बाख्रापालनका लागि जनही पाँच वटाका दरले ७५ वटा पाठी दिएको छ । 

उहाँले पशुपालनमा सक्रिय रहनुभएका द्वन्द्वपीडित महिलाले अहिले राम्रो आम्दानी गरेर घर खर्च चलाउने ठुलो सहयोग गरिरहनुभएको बताउनुभयो । बाख्रापालनमा सक्रिय रहनुभएकी राजापुर –५ की राजकुमारीदेवी थारुका श्रीमान् रामकिशन थारु माओवादीको जनमुक्ति सेनामा रहनुभएको थियो । 

थारुलाई राजापुर बजारमा ट्याक्टरमा डिजेल हाल्न गएका बेला सेनाले पक्राउ गरेर हत्या गरेको राजकुमारीले बताउनुभयो । बाख्रा पालनबाट राम्रै आम्दानी भइरहेको जनाउँदै उहाँले सशस्त्र द्वन्द्वलाई बिर्सँदै व्यवसायमा लागेको बताउनुभयो । 

यस्तै, राजापुर–५ बदालपुरकी अनिता थारुका पति सोमप्रसाद थारु पनि माओवादीका पूर्णकालीन कार्यकर्ता हुनुहुन्थ्यो । कैलालीको अमखैैयामा २३ जेठ २०६२ मा नेपाली सेनाको आक्रमणमा उहाँको निधन भयो । 

अंशबाट आएको ८ कट्ठा जग्गा बेचेर बदालपुरको माइतीनजिकै घर बनाएर उहाँ बस्नुभएको छ । राजापुर नगरपालिकाले उहाँलाई जीविकोपार्जनका लागि दुई वटा भैँसी (पाडी) दिएको छ । शहीद भनेर सरकारले दिएको १० लाख रुपियाँबाट थप पाँच कट्ठा जग्गा उहाँले खरिद गर्नुभएको छ । भैँसी पालनबाट राम्रै गुजारा चलिरहेकाले क्रमशः पशुपालन बढाउँदै लगेको अनिताले बताउनुभयो । 

राजापुर–६ विक्रमपुरकी द्वन्द्वपीडित हिरा थारुलाई पनि नगरपालिकाले पाँचवटा बाख्रा सहयोग गरेको छ । उहाँका पति राजकुमार थारुलाई ३ कात्तिक २०५९ मा सेनाले घरबाटै लगेर बेपत्ता पारेको हिराले बताउनुभयो । उहाँले दुई भाइ छोरामध्ये एउटालाई दुईवटा र अर्कोलाई तीन वटा बाख्रा सहयोग गर्नुभएको थियो ।  

महिलालाई बाख्रा र भैँसी वितरण गर्नुअघि उनीहरूको रोजाइअनुसार व्यावसायिक पशुपालन तालिम दिएर बाख्रा र भैँसी हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले गरेको एक अध्ययनअनुसार दुईवटा भैँसी पाल्ने किसानले दूध बेचेर महिनामा करिब २५ हजार बचत गरिरहनु भएको छ भने पाँचवटा बाख्रा पाल्नेले पनि राम्रै आम्दानी गरिरहनु भएको उहाँहरूको भनाइ छ ।