• ९ जेठ २०८१, बुधबार

रामपुरमा सहिद गेट निर्माण

blog

इमान सिं राना

रामपुर (पाल्पा), मङ्सिर १० गते । सहिदहरूको सम्झनामा रामपुर नगरपालिका–५, पाल्पामा सहिद गेट निर्माण गरिएको छ । १० वर्षे जनयुद्ध र जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका सहिदहरूको सम्झनामा गेट निर्माण गरिएको हो ।

कालीगण्डकी कोरिडोर अन्तर्गत बहखोला पुल नजिकै निर्माण गरिएको सहिद गेटको लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्कीले  समुद्घाटन गर्नुभएको हो । आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेश सरकार मार्फत निर्माण भएको गेटको उद्घाटन गर्दै मन्त्री मास्कीले जनयुद्ध र जनआन्दोलनका महान् सहिदहरूको बलिदान बाट नै मुलुक सङ्घीय गणतन्त्र सम्म आएको बताउनुभयो । 

व्यवस्था प्राप्तिका लागि सहादत प्राप्त गर्नुहुने सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले भन्नुभयो, “सहिदको बलिदानी यो लोकतन्त्रमा छ । ७२ सालको नयाँ संविधानमा छ । र आज तपाई हामीले सुन्दर लोकतन्त्रको अभ्यास गरिरहेका छौँ । समाजवादको यात्रामा अघि बढिरहेका छौँ ।” उहाँले रामपुर अस्पताललाई व्यवस्थित गर्दै स्तरीय सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र पुनले रामपुरले विकासको माध्यमबाट मुहार फेरेको बताउँदै कालीगण्डकी कोरिडोर क्षेत्रको विकासको लागि प्राधिकरण गठन हुनु आवश्यक बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले गेटको निर्माणसँगै सहिदहरूको सम्मान भएको बताउनुभयो । उहाँले सहिदको बलिदानलाई कदर गर्दै विकास निर्माणमा लाग्ने समय आएको बताउनुभयो । 

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख एवम् सहिद सूर्य प्रसाद घिमिरेको छोरी विष्णु देवी घिमिरे आचार्यले सहिदहरूको उच्च सम्मान गर्दै अघि बढ्नु पर्ने बताउनुभएको थियो । सहिद गेट पुनः निर्माण समितिका अध्यक्ष बाबुराम वि.क.ले लुम्बिनी प्रदेश सरकारको १० लाख र जनसहभागिता बाट १ लाख ८० हजार गरी ११ लाख ८० हजारको लागतमा सहिद गेट तयार भएको जानकारी दिनुभयो । 

गेट समुद्घाटनको अवसरमा जनयुद्ध र जनआन्दोलनका क्रममा सहिद हुनुभएका व्यक्तिहरूको परिवारलाई सम्मान गरिएको थियो । जनयुद्धका सहिद यमनाथ पाठकका धर्मपत्नी दिलमायाँ पाठकको अध्यक्षतामा भएको कार्यक्रम नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी उपाध्यक्ष लक्ष्मी ढकालको स्वागत र माओवादी केन्द्र नगर अध्यक्ष यम बहादुर सुनारको सञ्चालनमा भएको थियो ।