• १० मंसिर २०८१, सोमबार

बलिया वालुङ

blog

ताप्लेजुङ जिल्लाको तमोर नदीको माथिल्लो भागमा पर्ने ओलाङ्चुङगोला मुख्य बसोबास क्षेत्र भएका वालुङलाई नेपाल सरकारले हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समूहमा सूचीकृत गरेको छ । स्थानीय भाषामा ओलाङ्चुङगोलालाई वालुङ भनिन्छ ।

ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लुङ्थुङ र लेलेपजस्ता ठूला पाँच गाउँ तथा अन्य ससाना केही गाउँको समूहलाई समग्रमा वालुङ भन्ने गरिन्छ । वालुङलाई होलुङ पनि भनिन्छ । यो उच्चारणको मात्र भिन्नता हो । सहजताका लागि यस क्षेत्रलाई गोला पनि भन्ने गरिएको छ । त्यहाँ बसोबास गर्ने मानिसलाई गोलाबारी पनि भनिन्छ ।

यिनै गाउँमा लामो समयदेखि बस्दै आएका तिब्बती अनुहारका नागरिक वालुङ हुन् । तिब्बती मूलका यिनी तिब्बतबाट नेपाल आएका हुन् । यिनीहरू भोट–चिनियाँ भाषा बोल्छन् तर उच्चारणलगायत केही आफ्नै शब्द र लवज रहेको जानकार बताउँछन् । यिनीहरूको सम्पर्क भाषा भने नेपाली नै हो ।

वालुङ नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको व्यापारिक केन्द्र हो । वालुङहरू तिब्बतको टिपताला नाकाबाट व्यापार गर्छन् । तिब्बततिरबाट नुन, तेल, खाद्यान्न, लत्ताकपडा र अन्य आवश्यक सरसामान ल्याउने वालुङले नेपालबाट ऊन, गलैँचा, छुर्पी, जडीबुटी, जनावरको छाला र जनावरका रौँ, मुगाको माला, ऊनका कपडाको परम्परागत व्यापार गर्दै आएका छन् तर हाल यस्तो व्यापारमा विविधता आएको छ ।

विगतमा सो क्षेत्रमा ठूलो व्यापारिक केन्द्र नभएकाले यिनीहरूको मुख्य पेसा घुमन्ते व्यापार नै थियो तर अचेल यस्तो कार्यमा परिवर्तन आएको छ । चीनले २०७२ सालको भूकम्पको कारण देखाउँदै रियु प्रान्तको टिपतालालगायत उत्तरतिरका केही नाका बन्द गरेकाले यिनीहरूको पेसा र दैनिक जीवनमा समस्या आएको छ ।

नेपालले तमोर कोरिडोर सम्पन्न गर्ने र चीनले टिपताला नाका निर्बाध सञ्चालन गर्न दिने हो भने तमोर नाका नेपाल हुँदै भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो मार्ग हुने छ । टिपतालाबाट २१ किलोमिटरभित्र ओलाङ्चुङसम्म तिब्बतबाट गाडी आउने गरे पनि नेपालबाट भने त्यहाँ अझै यातायात नपुगेकाले व्यापारको सम्भावना भए पनि वालुङहरूको आर्थिक अवस्था कमजोर छ ।

वालुङको शारीरिक बनोट, भाषा, पहिरन र जन्मदेखि मृत्युसम्मका कतिपय संस्कार तिब्बती मूलका भोटे (शेर्पा) हरूसँग मिल्छ तर यातायात तथा सञ्चार सुविधाको प्रभावले छरिता, गहुँगोरा, गोला अनुहारका बलिया वालुङहरूको क्रमशः ‘नेपालीकरण’ हुँदै छ । लामो समय यस क्षेत्रमा सरकारको ध्यान पुगेको थिएन । आन्तरिक पर्यटक पनि जाँदैनथे । विदेशी पर्यटकलाई यो क्षेत्र अहिले पनि निषेधित छ ।

हाल भन्सार कार्यालय, सशस्त्र प्रहरी अन्तर्गत बोर्डर आउट पोस्ट (बिओपी) को स्थापना, आन्तरिक पर्यटकको बाक्लो उपस्थितिले  ओलाङ्चुङगोला र वालुङ्लाको मूल प्रवाहीकरण हुँदै गरेको छ ।

यिनीहरूले फुटुक, ल्होसार, नेसो, फुटुक, साकादावा, ढुक्पाछेसी, ङ्युङजस्ता चाडपर्व मनाउँछन् । फुटुकमा यिनीहरूले आफ्ना ऐतिहासिक जातीय युद्धकला प्रदर्शन गर्ने गर्छन् । राष्ट्रिय जनजाति विकास समितिद्वारा प्रकाशित ‘नेपालका आदिवासी जनजातिहरू, २०५७’ पुस्तिकामा ‘यिनीहरूको फुटुक उत्सवमा माक्सुम ग्यावोको थुदामका ग्याबोसँग युद्ध भएको दृश्य प्रदर्शन गर्छन् भनी उल्लेख गरिएको छ ।  हेर्दा पनि यिनीहरू साहसी र लडाकु जाति जस्ता देखिन्छन् ।

केही बौद्ध र प्राकृतिक धर्म मान्ने यिनीहरू प्रकृतिपूजक पनि हुन् । स्थानीय वालुङमा एक ठूलो गुम्बा छ । जसमा यिनीहरू पुर्खाको पूजा गर्ने तथा कतिपय त्यही गुम्बामा बस्ने गर्दछन् । राष्ट्रिय जनगणना–२०५८ मा  वालुङको कुल जनसङ्ख्या एक हजार १४८ जना थियो । २०६८ मा १२ सय ४९  देखाइएको वालुङको जनसङ्ख्या २०७८ मा जम्मा ४८१ जना देखाइएको छ ।

केही वालुङले व्यापार तथा कामको सिलसिलामा ताप्लेजुङका बेँसीतिर बसाइँसराइ गरेका छन् तर यसरी नै जनसङ्ख्या घट्नुपर्ने अवस्था छैन । कतिपयले वालुङ त कतिपयले शेर्पा थर प्रयोग गर्ने गरेकाले पनि वालुङहरूको सङ्ख्या घटेको हुन सक्छ ।

स्थानीय वालुङको मुख्य खाना जौ, फापर, आलुबाट बनेका परिकार हुन् । याकचौँरी, च्याङ्ग्रापालन गर्ने यिनीहरूसँग उब्जाउयोग्य जमिनको अभावमा व्यापार नै जीविकोपार्जनको मुख्य आधार भएको छ । भान्सा, चुलोचौकोलाई पवित्र स्थान मानेर पूजा गर्ने वालुङमा भाँडाकुँडा सजाएर राख्ने सोख देखिन्छ । मागी र प्रेम विवाह हुन्छ तर मुखियाहरूले निर्णय गर्नुपर्ने । बिहेवारी तथा जन्ममा जातीय परम्परा कायम छ । स्थानीय सवाल, पारिवारिक विवादमा अझै पनि गाउँमा मुखियाहरूको निर्णय र निर्देशन प्रभावकारी हुन्छ ।

उत्सव, पर्व, विवाहमा विभिन्न बाजा बजाई धुन्ज्याङ (नाचगान) गरिन्छ  । मृत्यु संस्कार पूरा गर्दा पनि यस्ता बाजा बजाउने चलन छ । यस जातिका मुख्य बाजा बुक्स्याल, टुङ्ना, ङहा, ध्यालिङ, पिवाङ आदि हुन् तर यी बाजा निकै कम प्रयोगमा छन् भनेर सङ्गीतका अध्येता बुलु मुकारुङले उल्लेख गरेका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले वालुङलगायत माझी, सियार, ल्होमी, थुदाम, धानुक, चेपाङ, सतार (सन्थाल), झाँगड, थामी, बोटे, दनुवार, बरामु जातिलाई अति सीमान्तकृत समूहमा वर्गीकरण गरेको छ ।